Aamsanchar

८० वर्षको उमेरमा नागरिकता

Author Image
बिहिवार, वैशाख १३, २०८१

मुगु – मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ सेरोग गाउँका नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ । २००० साल वैशाख १२ गते जन्मनुभएकी उहाँलाई जन्मदिनको अवसर पारेर प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले हिजो नागरिकता प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

३५ वर्षअघि कामीका श्रीमान् सोनाम तेन्जिनको मृत्यु भएको थियो । विकट गाउँबाट जिल्ला सदरमुकाम गमगढी पुग्न दुईरतीन दिन हिँड्नुपर्ने भएपछि जान–आउन समस्या हुँदा र नागरिकताको आवश्यकताबारे जानकारी नहुँदा त्यसै बसेको उहाँले बताउनुभएको छ ।

‘श्रीमानको मृत्यु भएपछि घरमा कमाउने मान्छे नहुँदा दुई छोरा पाल्न धौधौ भयो । सरकारले भत्ता दिन्छ भनेर नागरिकता लिन खोज्दा श्रीमान् नहुँदा नागरिकता बनेन’, नोन्जोम कामीले सुनाउनुभयो । श्रीमानको नागरिकता, माइती पक्षको सनाखत र नागरिकता पाउनका लागि आवश्यक पर्ने अनुसूचीसहित अन्य कागजात पुगेपछि र ढिला नागरिकता लिनुको कारणबारे विश्वास लाग्दो प्रमाण जुटेपछि उहाँको नागरिकता बनाएको प्रमुख जिल्ला अधिकारी केसीले बताउनुभयो ।

८० वर्षमा पनि नागरिकता नबन्दा सिङ्गो परिवारै राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित भएको थियो । विभिन्न सञ्चारमाध्यममा उहाँकाबारेमा समाचार सार्वजनिक भएपछि स्थानीय समाजसेवी सोनाम लामा कार्मारोङ र वडाध्यक्ष दावा साङवा तामाङले उहाँको नागरिकता बनाउन प्रक्रिया पूरा गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर