Aamsanchar

महोत्तरीको मटिहानीका अग्निपीडित परिवारहरूलाई राहत वितरण

Author Image
बिहिवार, वैशाख १३, २०८१

महोत्तरी- महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ को जरलहवा बस्तीका अग्निपीडित परिवारहरूलाई राहत वितरण सुरु भएको छ । बुधबार मटिहानी नगरपालिका वडा नं.६ स्थित जरलहवा गाछी बस्तीमा भएको आगलागीमा डेढसय भन्दा बढी घर जले ।

बिहीबार बिहानै अग्निपीडित परिवारहरूलाई मटिहानी नगरपालिका वडा नं। ८ का सुनचाँदी व्यवसायी जयशंकर गुप्ताले आलु, आटा तथा बस्ने पटिया वितरण गर्नुभएको छ । त्यसैगरी जलेश्वर नगरपालिका(२ निवासी मनुराज चौधरीले अग्निपीडित परिवारलाई एक(एक कार्टुन चाउचाउ वितरण गर्नुभएको मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिनुभयो । उहाँले वुधबार राति नै आगलागी पीडितहरूलाई खानेकुरा, पानी त्रिपाल तथा रेडक्रस सोसाइटीले बाल्टिन र मग वितरण गरेको जानकारी दिनुहुँदै बिहीबार बिहानै बिस्कुट वितरण गरिएको बताउनुभयो ।

नगरपालिकाको स्रोतसाधनबाट धान्ने गरी आगलागी पीडितहरूलाई सहयोग भइरहेको बताउनुहुँदै नगरप्रमुख मण्डलले विपद्को यस घडीमा सहयोगको लागि सबैसँग अपिल गर्नुभयो । बिहीबार बिहानै मधेश प्रदेशका गृहमन्त्री राजकुमार लेखी, राज्यमन्त्री शारदा थापा, प्रदेशसभा सदस्य रानी शर्मा तिवारी तथा गृहसचिव वीरेन्द्र यादवसहितका टोलीहरू घटनास्थल पुगेर निरीक्षण भ्रमण गर्नुभएको छ । उहाँले अवस्था भयावह रहेको बताउनुहुँदै क्षतिको यकिन गरेर मधेश सरकारबाट आगलागी पीडितहरूलाई सहयोग गर्ने आश्वासन दिनुभयो ।

जरलहवा बस्तीमा वुधबार लागेको आगलागीलाई नियन्त्रणमा लिन १० वटा वारुणयन्त्रलाई झण्डै सात घण्टाभन्दा बढी समय लागेको थियो । अहिले आगलागी पीडितहरूलाई राहत र पुनर्स्थापना कसरी गर्न सकिन्छ भन्नेमा समय दिनुपरेको बताउनुहुँदै नगरप्रमुख मण्डलले आगलागी पीडितहरूलाई संयमता साथ बस्न आग्रह गर्नुभयो ।

मटिहानीमा लागेको आगलागीको विषयमा जिल्ला विपद् व्यवस्थापन समितिको आकस्मिक बैठक बिहीबार बस्न लागेको छ । हावाहुरी, आगलागी र राहत लगायतका विषयमा आकस्मिक बैठक बोलाइएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो ।

आगलागी पीडितहरू के भन्छन् ?

बिहीबार बिहानै घटनास्थल पुग्दा धेरै जना आगलागी भएको घरको सामग्रीहरू बटुल्न तथा सरसफाइमा लागेका थिए । रातभरि जागराम बसेका मटिहानी ६ जरलहवा बस्तीका साहना खातुनले जलेको घर देखाउँदै धेरै सपना घर खरानीसँगै डढेको बताउनुहुन्छ । उहाँले अहिलेसम्म नगरपालिका वा कुनै निकायबाट केही सहयोग प्राप्त नभएको बताउनुभयो। दाहा (ताजिया) पछि छोरीको विवाह जलेश्वर नगरपालिका वडा नं. ४ मा गर्न लागेको थिएँ । त्यसको लागि गरगहना, लत्ताकपडा तथा केही रकम जोहो गरेर राखेको थिएँ तर आगलागीमा सबै जल्यो । आगलागी भएको बेला आफू घरभन्दा बाहिर चौरीमा पात सोहर्न गएको र आगलागीको जानकारी भएपछि भाग्दै आएपनि केही बचाउन सकिएन घरभरि फैलिएको आगोबाट केही चामल बचाउने प्रयास गरेको थिएँ त्यो पनि कसैले लिएर भागेू, खातुनले भन्नुभयो ।

काखमा बच्चालाई सुताएर एकतमासले जलेको घर हेरिरहेकी सोही बस्तीकै सविना खातुनले महाजनसँग लिएको कर्जा चुकाउन पाँच-दश हजार गरेर जम्मा गरेको दुई लाख नगद आगलागीसँगै जलेको बताउनुहुन्छ।

सोही बस्तीको अनवारुल शेषको घरमा केही छिमेकीहरू बसेर महिलाहरूलाई सान्त्वना दिइरहेकी थिइन । उहाँहरूले सानासाना चार बच्चा भएको र अहिले पनि सुत्केरी भएको बताउँदै च्यूरा, बिस्कुटले घर टार्न सकस हुने बताउँदै सरकारलाई तत्काल सहयोग गर्न आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 2

प्रतिक्रिया (०)

सम्बन्धित खबर