Aamsanchar

उपनिर्वाचनका लागि इलाम २ मा धामाधम मतदान केन्द्र बन्दै

Author Image
शुक्रवार, वैशाख १४, २०८१

इलाम – इलाम क्षेत्र २ मा वैशाख १५ को उपनिर्वाचनका लागि तयारी धमाधम भइरहेको छ। अहिले कर्मचारी र सुरक्षाकर्मी मतदानस्थल पुगेर सबैखाले तयारी गरिरहेका छन्। स्थानीय राजनीतिक दलसँग सर्वदलीय बैठकसँगै मतदानस्थलको घेराबारा, मतदातालाई राखिने लाइन राख्ने ठाउँलगायत तयार गरिरहेका छन्।

मतदातालाई पुरुष र महिलाले अलग–अलग लाइनमा बसेर मतदान गर्न सक्नेगरी व्यवस्थापन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जिल्लाका सबै मतदानस्थलमा कर्मचारी र सुरक्षाकर्मीको टोली पुगिसकेको छ। क्षेत्र २ का एक सय ४९ मतदान केन्द्रमा सियोदेखि सलाईसम्म ४२ प्रकारका सामग्री मतदान केन्द्रमा प्रयोग गरिँदैछन्।

सबै मतदान केन्द्रलाई ‘अति संवेदनशील’मा राखेको सुरक्षा समितिले यसपटक निर्वाचन सुरक्षाका लागि विशेष सुरक्षा व्यवस्था अपनाइएको जनाएको छ। निर्वाचनमा सात सय ४५ कर्मचारी, एक हजार पाँच सय २३ नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी र चार सय ५० नेपाली सेना र अनुसन्धानका २४ जना परिचालन हुनेछन् । छ पालिकाका ४२ वडामा मतदान हुन लागेको छ।

यहाँ ५६ हजार आठ सय ६९ महिला, ५९ हजार १८ पुरुष, दुई अन्य गरी एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ। शुक्रबारसम्ममा सबै मतदान केन्द्र तयार भइसक्ने निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण लिम्बूले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर