Aamsanchar

विश्वको सर्वाधिक प्रदूषित शहरको सूचीमा काठमाडौँ फेरि पहिलो स्थानमा

Author Image
शुक्रवार, वैशाख १४, २०८१

काठमाडौँ – काठमाडौँ फेरि विश्वको सर्वाधिक प्रदूषित शहरको सूचीमा पहिलो स्थानमा पुगेको छ।

विश्वका प्रमुख शहरहरुको रियल टाइम वायु प्रदूषणबारे अध्ययन गर्ने आइक्यू एयर डटकमका अनुसार हाल काठमाडौँको वायु प्रदूषण विश्वकै पहिलो नम्बरमा पुगेको हो।

शुक्रवार काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क ९एक्यूआई० २०६ छ। विश्वकै प्रदूषित दोस्रो शहरको सूचीमा चीनको राजधानी बेइजिङ रहेको छ।
यसअघि गएको चैत २७ गते पनि काठमाडौँ उपत्यकाका वायु प्रदूषणको विश्वकै प्रमुख शहरमा रहेको थियो।

प्रदूषण मापनमा शून्यदेखि ५० सम्मको एक्यूआई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्यूआईलाई सतर्क रहनुपर्ने अवस्थाको सूचकको रुपमा लिइन्छ।

१०१ देखि १५० सम्मको एक्यूआईले श्वासप्रश्वास र मुटुका विरामीलाई असर गर्ने विज्ञहरुले बताएका छन्। १५१ देखि २०० सम्मको एक्यूआईलाई अस्वस्थकर हावाको रुपमा लिने गरिन्छ।

त्यसैगरी २०१ देखि ३०० सम्मको एक्यूआईलाई अति अस्वस्थ, ३०१ देखि ४०० सम्मको एक्यूआईलाई खतरनाक र ४०१ देखि ४५० सम्मको एक्यूआईलाई अति खतरा हावा मानिन्छ जुन मानव स्वास्थ्यको लागि घातक मानिन्छ।

देशभर लागेको डढेलो र ठूला आगलागीका कारण वायु प्रदूषण बढ्दै गएको विज्ञहरुले बताउँदै आएका छन्।

वन तथा वातावरण मन्त्रालयको वातावरण विभागअन्तर्गत वायु गुणस्तर निगरानीका अनुसार यतिखेर काठमाडौँको शंखपार्क क्षेत्रमा अत्यधिक प्रदूषण रहेको देखिएको छ।

हाल यस क्षेत्रको एक्यूआई अहिले १८३ रहेको छ। रत्नपार्कको १७०, भक्तपुरको १८९‚ ललितपुर खुमलटारको १५९ रहेको छ। काठमाडौँ उपत्यकामा वायु प्रदूषण दैनिक जीवनयापनमा वेला वेला समस्या बन्दै गएको छ।

वायु प्रदूषणले फोक्सोमा असर पुग्ने भएकाले घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउन चिकित्सकहरुले आग्रह गरेका छन्। वायु प्रदूषणले फोक्सोका साथै आँखा, मस्तिष्क र छालालाई समेत असर गर्ने हुँदा जोगिएर हिँड्न सरुवा रोग विशेषज्ञहरुले बताउँदै आएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 44

प्रतिक्रिया (०)

सम्बन्धित खबर