Aamsanchar

जय शनिदेव । राशिफल, १५ बैशाख २०८२, शनिवार

Author Image
शनिवार, वैशाख १५, २०८१

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
परीक्षा नजिकै आएको छ भने हरेक कुरा र योजनालाई सार्वजनिक नगर्नु होला, नत्र तपाईंको प्रयास र मिहिनेत खेर जानसक्छ । जोखिम र सङ्कटले घेरेको समय छ, धेरै बटुल्ने इच्छा गर्दा मूल धन नै गुमाउने परिस्थिति बन्नेछ, त्यसैले दुराशा र महत्त्वाकाङ्क्षालाई थाती राखी संयमताका साथमा आफ्नो कामलाई निरन्तरता दिनुहोला । हाकिमको कचकच बढ्नेछ, अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने बाध्यता हुनेछ, तापनि प्रयत्न गर्दा लाभमूलक क्षेत्रको पहिचान गर्न सकिने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 
लामो समयपछि एकान्तमा बस्न पाउने र रमाउने समय छ, आफ्ना कुरा सुनाउनुभन्दा पनि पार्टनरका भावना बुझ्ने प्रयास गर्नुहोला । किनमेलका क्षेत्रबाट लाभ हुनेछ । साझेदार र सहयोगीले पूर्णरूपेण सहयोग गर्नेछन् । कुनै प्रतिस्पर्द्धामा समेत सफलता हासिल हुनेछ । मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल, सुगन्ध र रेडिमेड वस्त्रका व्यवसायीले लाभ पाउने सङ्केत छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 
अवगाल खेप्ने समय हो, रिसराग, द्वेष र अहङ्कार मनमा लुकेर बसेका शत्रुहरू हुन् भन्ने बुझेर तिनलाई दमन गर्नु ठीक हुन्छ । प्रतिस्पर्द्धा र परीक्षामा सफलता पाउने दिन हो, तर राम्रो रिजल्टको चाहना छ भने गोप्य ढंगले तैयारी गरेको राम्रो हुन्छ । शारीरिक थकान र बेचैनीको समय हो, ससाना कुरामा चिन्ताग्रस्त भइने छ, सानातिना विषयमा चिन्ता गर्ने हुँदा आफूमात्र होइन, आफन्त र सँगीसाथीको तनावमा समेत बृद्धि हुने समय छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
तालिम वा ज्ञान बढाउने विषयमा सरिक हुने र लाभ पाउने समय हो, जुनियर स्टाफ वा छोराछोरीका माध्यमबाट पनि लाभ हुनेछ । सँगीसाथी र प्रियजनहरू जीवनका महत्त्वपूर्ण पक्ष हुन्, त्यसैले व्यक्तिगत जिम्मेवारी र हार्दिकताका बीचमा सन्तुलन राख्न प्रयास गर्नुपर्ने दिन हो । पारिवारिक सुखमा अभिबृद्धि हुनेछ, आफन्त र शुभचिन्तकले पूर्ण सहयोग गर्नेछन् । विशिष्ट व्यक्तिसँग घुलमिल र उठबस हुने दिन हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
घरजग्गा, स्थिर सम्पत्ति र वाहनसुखको व्यवस्थापन गर्ने मनसाय बन्नसक्छ । दौडधूप गर्नुपर्ने काम वा भ्रमणमूलक कामबाट आर्थिक सन्तुलन कायम हुनेछ । दाम्पत्यसम्बन्धमा तालमेलको कमी रहने छ, तर घरको वातावरण व्यवस्थित र रमाइलो नै हुनेछ । कुनै गोपनीय कुरा सार्वजनिक हुँदा अप्ठ्यारोमा परिने छ । घरपरिवारमा सँगै बस्नेले बाध्यात्मक काममा अलमलिने परिस्थिति देखिन्छ, यद्यपि उच्च शिक्षाका विद्यार्थी एवं वैदेशिक प्रयोजनको अध्ययन गर्नेले राम्रो परिणाम पाउनेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 
पारिवारिक सौहार्द्रता र सद्भावमा बृद्धि हुनेछ, परिवारका सदस्यहरू र आफ्ना साथीभाइसँगको भेटघाटले आनन्द र मनोरञ्जन प्रदान गर्नेछ । दार्शनिकता र चिन्तन प्रति झुकाव बढ्नेछ, कुनै समसामयिक विषयका बारेमा साथीहरूसँग छलफल गर्ने र गम्भीर भएर जानकारी बटुल्ने दिन हो । नयाँ योजना प्रारम्भ गर्न उत्तम समय छ, प्रयास गरेमा कार्यप्रणालीमा सकारात्मक परिवर्तन हुनेछ । सामाजिकता र सामूहिक क्रियाकलापमा दिलचस्पी बढ्नाले पुराना साथीभाइ वा दौंतरीको काममा समेत दौडधूप गर्न सकिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 
एकआपसमा भेटघाट हुने र रमाउने वेला छ, तर बोल्दा निकै विचार पुर्याउनु होला, नत्र ससाना कुरामा पनि नोकझोक बढ्न सक्छ । नचिताएको सम्पत्ति हातमा आइपुग्ने समय हो, लटरी वा चिट्ठामा सहभागी हुन अनुकूल समय छ । कुनै भौतिक उपकरणको खरिद गर्न सकिने छ । कामबाट फाइदा हुनेछ, रकम व्यवस्थापनका लागि गरिएका प्रयासहरू सफल हुनेछन्, तर नातागोता र करकुटुम्बका काममा खट्नुपर्दा कार्यक्षेत्रमा प्रभाव पर्नसक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
क्षमता प्रदर्शन गरी आफूलाई सर्वश्रेष्ठ साबित गर्ने दिन हो, नौलो विषयको जानकारी लिएर प्राज्ञिक क्षमतालाई तिखार्ने अवसर मिल्नेछ । नयाँ उत्साह र उमङ्ग जाग्ने समय हो, खुसी र प्रसन्नताको सीमा हुनेछैन । विजय र सफलताले जताततै पछ्याउन सक्छ तर रिसराग, घमण्ड र अहङ्कारबाट टाढा रहनु ठीक हुन्छ । विपरीत परिस्थिति भए पनि कामलाई कुशलतापूर्वक झेल्नसक्ने सामर्थ्यको विकास गर्न सकिने छ । पेसागत उन्नतिका लागि गरेको प्रयास सार्थक बन्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 
परिबन्द र बाध्यताका काममा रुमल्लिनु पर्ने हुन्छ, नियमित र व्यवहारिक खर्च बढ्न सक्छ, तर वैदेशिक प्रयोजनको कामबाट मनग्ये लाभ हुनेछ, विदेशी सम्पत्तिको उपयोग गरी फाइदा बटुल्ने समय हो । विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा धन लाभ भए पनि आत्मसम्मानमा बाधा पर्न सक्छ । बाध्यात्मक काममा सञ्चित धनको उपयोग हुनेछ । रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज त्यस्तो व्यक्तिसँग भेट हुनसक्छ, जससँग बाँकी जीवन बिताउन सजिलो हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 
दाम्पत्यसुख र प्रेम सम्बन्धका निमित्त राम्रो समय छ, एक्लै बस्नुहुन्छ भने घरपरिवारमा सम्पर्क राखी भावना साटासाट गरेको जाती हुन्छ । सरकारी कामका माध्यमबाट धनार्जन गर्न सकिने छ, कुनै प्रतिष्ठान वा कार्यालयको बाँकीबक्यौता उठाउनु छ भने प्रयास गर्नुहोला । चाहेबमोजिम सबै कामहरू सम्पन्न हुनेछन्, पारिवारिक माहौल पनि ठीकै छ, तथापि अहङ्कार र घमण्डलाई कन्ट्रोल गर्ने समय हो । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 
वाहनसुखको योग छ वा महत्त्वपूर्ण भ्रमणको सङ्केत छ । घरबाट कुनै शुभ वा माङ्गलिक कर्म गर्नेबारेमा सन्देश पाउन सक्नुहुन्छ । सामाजिक र राजनैतिक हैसियत निर्माणका दिशामा केही लगानी गर्नुपर्ने हुन्छ । प्रशासनिक वा सरकारसम्बद्ध कुनै काम सुल्झाउन उपयोगी समय छ । मज्जाले खट्नुपर्ने दिन हो, व्यस्त रहनाले दाम्पत्य र प्रेम जीवनसमेत प्रभावित बन्नसक्छ । आज शारीरिक तन्दुरुस्ती र आरामका बारेमा पनि विचार गर्नुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 
नयाँ जानकारी र समाचारहरू प्राप्त गरी अपडेट हुने समय हो, कार्यस्थलमा विशेष भूमिका निर्वाह गर्ने समय छ, हाँके÷ताकेका काममा भाग्यले साथ दिनुका साथै डिजिटल माध्यमबाट पनि जनसम्पर्कको दायरा बढ्नेछ । तारिफयोग्य काम गरेर दङ्गपर्ने दिन हो, तर आज चुनौती र सङ्घर्षका माझमा काम निकालेर इज्जत जोगाउन सकिने समय हो । त्यस्तो सुनौलो पल र समय बित्नेछ, जसले गर्दा प्रेमीप्रेमिकाको सामीप्य अझ नजिकिने तथा प्रेमसम्बन्ध गाढा बन्ने अनुकूलता मिल्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 89

प्रतिक्रिया (०)

सम्बन्धित खबर