Aamsanchar

हरेक शुक्रबार धरानमा ´सुधारबार` कार्यक्रम सुरू भएकाे एक सय हप्ता पुग्याे

Author Image
आइतवार, वैशाख १६, २०८१

धरान- धरानलाई लागुपदार्थ दुर्व्यसनरहित सहर बनाउन हरेक शुक्रबारलाई सुधारबार भनी सुरु गरिएको सचेतना कार्यक्रम एक सय हप्ता पुगेको छ । सो अवसरमा नगर प्रमुख हर्कराज राईको नेतृत्वमा बृहत् र्‍यालीसहित नाटक कार्यक्रमको आयोजना गरियो ।

लागुऔषध प्रयोगकर्ता दिनानुदिन बढिरहेका छन् । पछिल्लो समय धरान लागुऔषधको प्रयोगकर्ताको केन्द्र जस्तै बन्न थालेको छ । यो सामाजिक समस्यालाई न्यूनीकरण गर्न सचेतना अभियान कार्यक्रमको सुरुवात गरिएको नगर प्रमुख राईले बताउनुभयो । धरानलाई लागुपदार्थरहित बनाउनका लागि धरानको हरेक वडामा हरेक शुक्रबार लागुपदार्थविरुद्धको सचेतना कार्यक्रम गर्न थालेको पनि उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “समाजमा विकराल बन्दै गएको लागुपदार्थ दुव्र्यसनलाई न्यूनीकरण गर्ने कामको सुरुवात भएको छ, बेलैमा सचेत बन्न जरुरी छ । सबैसँगको सहयोग, सहकार्य र सल्लाह सुझावसहित धरानलाई दुव्र्यसनमुक्त गर्न सबै जाग्न जरुरी छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक मानबहादुर राइले दैनिक रूपमा लागुपदार्थ सेवनमा युवायुवती पक्राउ पर्ने गरेको बताउनुभयो । उहाँले बालबालिका लागुपदार्थ सेवनमा फस्नुमा परिवारको सानो सानो हेलचक्य्राइँले पनि भएको बताउनुभयो । इलाका प्रहरी कार्यालय धरानले पनि हरेक वडामा प्रशिक्षण दिँदै आएको उहाँले बताउनुभयो ।

धरानमा सबैभन्दा बढी लागुपदार्थ दुव्र्यसनको मुद्दा प्रहरीले हेर्ने गरेको छ, दैनिक आधा दर्जन प्रयोग कर्तालाई प्रहरीले पक्राउ गर्दै आएको छ, त्यसैले लागुपदार्थ दुव्र्यसनकै कारण धरानमा झैझगडा र हिंसात्मक गतिविधिसमेत बढ्ने गरेको धरानको २ नम्बर वडाका वडाध्यक्ष रमेश राईले बताउनुभयो । यसका लागि परिवार पनि दोषी रहेकाले आमाबुवाले आफ्नो छोराछोरीलाई निगरानी गर्नुपर्ने उहाँले बताउनुभयो ।

इप्रकाबाट प्राप्त तथ्याङ्कले धरानमा पछिल्लो समय लागुऔषधजन्य पदार्थ बरामद र लागुऔषध मुद्दा बढ्दै गएको पाइएको छ । प्रहरीले बरामद गरेको लागुऔषध र पक्राउ पर्नेको सङ्ख्यालाई हेर्दा लागुऔषध सेवनकर्ता र कारोबारी बढेको देखिन्छ ।

लागुऔषध गाँजा, चरेस, हेरोइन, कोकिनलगायतका लागुऔषधको प्रयोग र कारोबार बढेको देखिएको छ । लागुऔषधको सेवन गर्ने र कारोबारी बढी भएकाले यस्ता मुद्दा वृद्धि भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को चैत महिनासम्ममा लागुऔषध मुद्दाको सङ्ख्या ४४ वटा रहेकोमा ७४ जना पुरुष र सात जना महिला पक्राउ परेका थिए भने औषधी विभागमा ६७ जनालाई बुझाएको छ । यसै गरी ७८२ किलो ०८५ ग्राम गाँजा र ५६ हजार ८७३ वटा विभिन्न नामको लागुऔषध बरामद भएको र ब्राउन सुगर (खैरो हेरोइन) १२.८०० ग्राम बरामद भएको थियो ।

आव २०७७र७८ मा लागुऔषध मुद्दाको सङ्ख्या ५७ वटा रहेकोमा ७९ जना पुरुष र चार जना महिला पक्राउ पएरेका थिए जसमा औषधी विभागमा २९ जनालाई बुझाएको छ, भने १२३ किलो ८१५ ग्राम गाँजा र चार हजार दुई हजार १६५ वटा विभिन्न नामका लागुऔषध बरामद भएका थिए भने ब्राउन सुगर (खैरो हेरोइन) १९५.५२५ ग्राम बरामद भएको थियो ।

आव। २०७८/७९ मा लागुऔषध मुद्दाको सङ्ख्या ५५ वटा मुद्दा रहेकोमा ७९ जना पुरुष र चार जना महिला पक्राउ परेका थिए भने औषधी विभागमा ३६ जनालाई बुझाएको छ । एक हजार एक सय किलो १५० ग्राम गाँजा र चार हजार विभिन्न नामका दुई हजार २९३ वटा लागुऔषध बरामद भएको थियो भने ब्राउन सुगर (खैरो हेरोइन) ६६.१०० ग्राम बरामद भएको थियो ।

यसै गरी आव २०७९/८० मा लागुऔषध मुद्दाको सङ्ख्या ६५ वटा रहेकोमा ९१ पुरुष र दुई जना महिला पक्राउ भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 10

प्रतिक्रिया (०)

सम्बन्धित खबर