Aamsanchar

मोरङमा कपडा पसल र घरमा आगलागी हुँदा ६ लाख ५० हजार बराबरको क्षति

Author Image
सोमवार, वैशाख १७, २०८१

विराटनगर – मोरङका अलगअलग स्थानका कपडा पसल र घरमा आगलागी हुँदा ६ लाख ५० हजार बराबरको क्षति भएको छ । विराटनगर महानगरपालिका–१६ स्थित विराटनगर जुट मिल्सनजिक रहेको पदम सुब्बाको काठले बनेको कर्कट पाताको छानो भएको १ तले घरमा आइतबार राति १०:१० बजेतिर आगलागी भएको हो ।

सुब्बाको घर भाडामा लिएर विराटनगर–१५ की प्रीति प्रधानले रेडिमेड कपडा पसल सञ्चालन गर्दै आएकी थिइन् । प्रहरीका अनुसार कपडा पसलबाट आगलागी सुरु भएको हो । आगोले पसलभित्र रहेको केही कपडा जलेका छन् । घरमा समेत आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ ।

विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । इलाका प्रहरी कार्यालय रानी र इलाका प्रहरी कार्यालय सीमाबाट खटिएको टोली तथा स्थानीय र दमकलको सहयोगमा आधा घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।

 

तत्काल आगो नियन्त्रणमा लिन सकिएका कारण ठूलो क्षति हुन नपाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । त्यस्तै,मोरङको बूढीगंगा गाउँपालिका–४ भवानीपुरस्थित एउटा घरमा आगलागी भएको छ । ज्ञानश्वरी सरदारको फुसको छानो भएको घरमा राति १० : ३० बजेतिर आगलागी भएको डीएसपी बस्नेतले बताए । उनका अनुसार विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

आगोले घर, ज ३ प १६०८ नम्बरको पल्सर मोटरसाइकलसहित घरभित्र रहेका अन्नपात,भाँडावर्तन र लत्ताकपडा पूर्णरूपले जलेर ध्वस्त भएको बस्नेतले बताए । उनका अनुसार आगलागीमा परेर ४ लाख बराबरको क्षति भएको छ ।

इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको टोली,दमकल र स्थानीयको सहयोगमा डेढ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । डीएसपी बस्नेतले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर