Aamsanchar

जन्तेढुङ्गामा बुवाँखोलाको पानी लिफ्टिङ गरेर बस्तीमा निकाल्ने तयारी

Author Image
बुधवार, वैशाख १९, २०८१

खोटाङ – खोटाङको जन्तेढुङ्गा गाउँपालिकामा बुवाँखोलाको पानी लिफ्टिङ गरेर बस्तीमा निकाल्ने योजना अघि बढेको छ । जन्तेढुङ्गा गाउँपालिका वडा नम्बर–१, ३, ४, ५ र ६ का नागरिकलाई पिउने पानीको व्यवस्थापनका लागि बुवाँखोला लिफ्टिङ खानेपानी योजनाको काम अघि बढाइएको हो ।

खानेपानी विभागसँगको सहकार्यमा प्रिक्सा कन्सल्टेन्सीले यही वैशाख ९ गते शुरु गरेर वैसाख १३ गते लिफ्टिङ आयोजनाको सर्वेक्षण पूरा गरेको छ । आयोजना सुनिश्चित भएको दुई वर्षपछि मात्रै लिफ्टिङ खानेपानी आयोजनाको सर्वेक्षण तथा डीपीआरको काम अघि बढेको हो ।

आयोजनाको डीपीआर तयार पार्न अझै कम्तीमा दुई हप्ता लाग्ने छ । मन्त्रालयबाट थोरै बजेट विनियोजन हुँदा दुई वर्षसम्म आयोजनाको सर्वेक्षणको काम नभएको जन्तेढुङ्गा गाउँपालिकाका सभापति बाजिन्द्र बिष्टले बताउनुभयो । उहाँको पहलमा सङ्घीय खानेपानी मन्त्रालयले आर्थिक वर्ष २०७९र०८० मै ‘बुवाँखोला लिफ्टिङ खानेपानी आयोजना’ लाई रातो किताबमा समेटेको थियो ।

आयोजनाअन्तर्गत बुवाँखोलाको चण्डीथानमाथि झोलुङ्गे पुलछेउबाट पहिलो मोटर राखेर १ हजार ९ सय ५८ मिटर उचाइमा रहेको भञ्ज्याङखर्कमा पानी निकालेर गाउँपालिकाभित्रका बस्तीमा पानी वितरण गर्ने योजना छ ।

लिफ्टिङ आयोजनाबाट जन्तेढुङ्गा गाउँपालिका वडा नम्बर १, ३, ४, ५ र ६ मध्ये चार वडाका पूर्ण र वडा नम्बर १ को पैयाँटार, देवीस्थान, रिला, बुकुलाका स्थानीय लाभान्वित हुनेछन् । लिफ्टिङ आयोजनाको लागत ४० देखि ५० करोड रुपैयाँ आउने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर