Aamsanchar

बजेट अधिवेशन आगामी वैशाख २५ गते बोलाउने तयारी

Author Image
बुधवार, वैशाख १९, २०८१

काठमाडौं – सरकारले संघीय संसदको बजेट अधिवेशन आगामी वैशाख २५ गते बोलाउने तयारी गरेको छ।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले संसदको आगामी बजेट अधिवेशन वैशाख २५ अथवा २६ गते बोलाउने तयारी गरिएको जानकारी दिएका हुन्।

उनले आगामी अधिवेशनमा समितिमा छलफलका क्रममा रहेका विधेयकहरुलाई छिट्टै टुंग्याएर संसदमा लैजाने तयारी भइरहेको बताए। त्यस्तै, संविधान र संघीयतालाई कार्यान्वयन गर्ने सवालमा थुप्रै ऐनहरु संशोधन गर्नु आवश्यक रहेको भन्दै ऐन संशोधन गर्नेगरी अगाडि बढिने पनि उनको भनाइ छ।

उनले बजेट अधिवेशन भए पनि धेरैभन्दा धेरै विधेयक पारित हुने विश्वास व्यक्त गरे। मन्त्री गिरीले सहकारी समस्या समाधानका लागि अध्यादेश ल्याउन सकिने पनि जानकारी गराए। यद्यपि, छिटो पारित गर्नेगरी संसदमा विधेयक नै आउनसक्ने पनि उनले बताए।

उनले भने ‘संसदको अधिवेशन सम्भवतः २५ वा २६ गते शुरु होला। लगानी सम्मेलनलाई अनुकुल किसिमको प्रभाव पार्ने हिसावले लगानीका निम्ति सबैलाई उत्साहित हुने वातावरण निर्माण गर्नका निम्ति सरकारले जुन अध्यादेश ल्यायो त्यो आफैँमा निकै राम्रो काम थियो। लगानी सम्मेलनमा सहभागि भएका सबैबाट पनि त्यो कुरा आएको छ। संसद नचलेको बेलामा अध्यादेशमार्फत पनि लगानी सम्मेलनलाई अनुकूल प्रभाव परोस्। लगानीका निम्ति तयार रहेका सबै मान्छेलाई उत्साह प्रदान गर्न सकोस् भन्ने हिसावले अध्यादेश ल्यायौँ। जहाँसम्म निकै राम्रो भयो भन्ने लागिराखेको छ। आउँदो अधिवेशनको सन्दर्भमा पनि समितिमा छलफलमा भएका धेरै विधेयकहरु छन्। ति विधेयकहरु समितिमा छिटोभन्दा छिटो टुंग्याउने र संसदमा लगेर यसलाई कानुनको रुपमा अगाडी बढाउनेगरी काम अगाडि बढ्दैछ।ु

मन्त्री गिरीले संसद बैठक सञ्चालनमा गतिरोध उत्पन्न हुनुपर्ने कुनै कारण नै नभएको बताए। उनले संसदलाई सहज ढंगले चलाउनका लागि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग छलफल भइरहेको र सकारात्मक कुरा भएको बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर