Aamsanchar

वर्षा नभएपछि जलसमाधी र अखण्ड कीर्तन

Author Image
बिहिवार, वैशाख २०, २०८१

बेनी – वर्षा नभएर बाली सुकेपछि म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका कृषकले जलसमाधी र चौबिस घण्टे अखण्ड कीर्तन गरेका छन्।पानीका इष्टदेवता इन्द्र, वरुण र महादेवको वैदिक पूजाआजासहित ताकमको पधेराचौरमा जप, ध्यान गर्नुका साथै अखण्ड कीर्तन गरेका हुन्।

ब्राह्माण समाज ताकमको आयोजनामा मंगलबार दिउँसो २ बजेदेखि बुधबार २ बजेसम्म लगातार २४ घण्टा संयुक्त भजन कीर्तन र जलसमाधी गरिएको स्थानीय गोपाल आचार्यले बताए। वर्षाका लागि देवतालाई कामना गर्दै जलसमाधी र अखण्ड कीर्तन गरिएको आयोजकले जनाएका छन्।

 

ठाकुर पौडेल, हरिहर पौडेल, गोविन्द पौडेल, श्यामप्रसाद आचार्य, छवीलाल सुवेदी र ध्रुबराज सुवेदीले निरन्तर ४ घण्टा पानीमा बसेर ‘ओम वरुणाण नम’ मन्त्र ४५ हजार पटक जप गरेका हुन्।

१२र१२ जनाको ३ वटा समूहले पालो लगाएर भजन कीर्तन गरेका थिए। पानी छेपाछेप खेलेर भजन कीर्तन र जलसमाधी समान गरेका थिए। सहभागीले ‘हरेराम, हरेकृष्ण’ भन्दै नाचगान र कीर्तन गरेका थिए।

साविक ताकम गाविसको ३, ४, ५ र ६ नम्बर वडाका बासिन्दाहरू सो कार्यक्रममा सहभागी भएका थिए। चन्दा संकलन गरेर अखण्ड कीर्तनको व्यवस्थापन गरिएको स्थानीय गोविन्द पौडेलले बताए।

गत माघ महिनायता बर्षा नहुँदा बर्खे बाली लगाउन पाएका छैनन्। कोदो, मकैको बिउ छरेपनि उम्रिएको छैन। हिउँदे बाली खडेरीले सुकेको, कोदो, मकैको बिउ नउम्रिएको र धानको ब्याड राख्न नपाएको कृषक चिन्तामणि सुवेदीले बताए।

‘यसअघि लामो खडेरीमा यसरी नै पूजा गरेपछि पानी परेको थियो,’ उनले भने ‘त्यसपछि लामो खडेरी पर्दा अखण्ड कीर्तन लगाइने गरेको छ।’

पानीका मुहान सुकेपछि सिँचाइ र खानेपानीको अभाव भएको छ। खडेरीले खेतीयोग्य जमिन बाँझो राख्नुपर्ने समस्या रहेको छ। ताकम ७ वटा वडा रहेको धवलागिरी गाउँपालिकाको अन्नको भण्डार मानिन्छ।

कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार कुल ३० हजार ८५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा १९ हजार ४१९ अथवा ६३ प्रतिशतमा खेती भएको छ। ११ हजार ३५४ हेक्टर अथवा ३७ प्रतिशत जमिन बाँझो छ।

खेती भएको मध्य ३०.८४ प्रतिशत अथवा ६ हजार १३ हेक्टरमा सिँचाइ सुविधा पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जिव बास्तोलाले बताए। खडेरीले खेतीबाली लगाउन र हिउँदेबालीको उत्पादन प्रभावित भएको उनले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 55

प्रतिक्रिया (०)

सम्बन्धित खबर