Aamsanchar

एकीकृत लेखा प्रणाली अपनाउन जिल्ला शाखा र निकायलाई रेडक्रसको निर्देशन

Author Image
शुक्रवार, वैशाख २१, २०८१

काठमाडौं – नेपाल रेडक्रस सोसाइटीले देशभरका आफ्ना जिल्ला शाखा र निकायहरुलाई एकीकृत लेखा प्रणाली अपनाउन आग्रह गरेको छ। नेपाल रेडक्रस सोसाइटीको नवीकरणमा सहजीकरण गर्न एकीकृत लेखा प्रणाली अपनाउन आग्रह गरेको हो।

नेपाल रेडक्रस सोसाइटीको ४९ औं महाधिवेशनमा लेखापरीक्षण प्रतिवेदन (अडिट रिपोर्ट) जिल्ला प्रशासन कार्यालयमा प्रश्तुत गरेर नविकरणको लागि अघि बढ्नुपर्ने भएकोले छिटो गरी लेखापरीक्षण गराउन आग्रह गरेको हो। नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्रा। सूदर्शनप्रसाद नेपालले रेडक्रसले अडिटको छलफल भइसकेको भन्दै ७७ जिल्लाकै अडिट रिपोर्ट आवश्यक रहेको बताए।

उनले सबै जिल्लाहरुले समयभित्रै अडिट रिपोर्ट बुझाउन पनि आग्रह गरे। उनले भदौ महिनासम्म केन्द्रबाट अडिट गरेर असोजसम्म नवीकरण गरिसक्ने समय निर्धारण गरिएको बताए। उनले रेडक्रसले गत वर्ष २५ लाखभन्दा बढी जनतासमक्ष विविध कार्यक्रम र गतिविधि लिएर गएको बताए।

उनले स्वास्थ्य प्रवर्द्धन एवं रोकथाम तथा पीडा न्यूनीकरण तथा सरसफाइ, खानेपानी स्वच्छता, पोषण खोप, रक्त सञ्चार प्राथमिकता र एम्बुलेन्स, मातृ तथा बालस्वास्थ्य, आँखा उपचार प्रवर्द्धन, प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य, सर्ने तथा नसर्ने रोगहरु, महामारी, सर्पदंश उपचार सेवा लगायत आकस्मिक स्वास्थ्य लगायतका गतिविधिहरु सञ्चालन गरेको बताए।

उनले भने, ‘यो एकीकृत लेखा प्रणाली भनेर जुन उल्लेख गरिएको छ, पहिला पहिला के हुन्थ्यो भने नेपाल रेडक्रस सोसाइटीको अडिट रिपोर्ट जुन हामीले जिल्ला प्रशासनमा प्रश्तुत गरेर त्यसबाट नविकरणको लागि हामी अगाडि बढ्दथ्यौँ, तर अहिले हामीलाई धेरै नविकरणमा पनि कठिनाइ परेको छ। अडिटको लागि कसरी जान ठिक हुन्छ भनेर पनि छलफल गरेका छौँ। अब अडिटको लागि व्यवस्थित गर्नुपर्छ। ७७ जिल्लाकै अडिट चाहिन्छ, लेखा चाहिन्छ। एकीकृत लेखा प्रणाली अपनाउनुपर्छ। भदौसम्ममा केन्द्रबाट सकेर असोजसम्म नविकरण गरिसक्ने समय निर्धारण गरेका छौँ।’

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले सोसाइटीले आपत्कालीन प्रतिकार्यअन्तर्गत सुदूरपश्चिम र कर्णालीमा भूकम्पमा प्रतिपरिवार १५ हजार बहुउद्देश्य नगद सहयोग गरेको बताए। उनले ४ हजार ४२६ परिवार अस्थायी आवास, शौचालय ८१९ परिवार र पानी ट्यांकी गरी एकमुष्ठ ७२ हजार ५ सय वितरण गरिएको बताए।

उनले त्रिपाल ८ हजार ३८५ थान, टेन्ट २४ वर्गमिटरको ४ थान, कम्बल ९ हजार २५० थान, म्याट्रेस ९ हजार २ सय थान, सोलार बत्ती ८८० थान, हाइजिन किट ७५२ थान, डिग्निटी किट १४ हजार ६७८ पिस, क्वीन्टल किट ७ हजार ७ हजार २५०, किशोरी किट ४ हजार ९७१, डोरी ७ सय, प्लास्टिक बाल्टी २ सय थान, प्याकिङ बोरा ३ हजार ९ सय र डेड बडी ब्याग २५० थान वितरण गरेको बताए।

उनले विपद् तथा संकट व्यवस्थापन परियोजनातर्फ १७ जिल्लाहरुमा विपद् पूर्वतयारी र प्रतिकार्यसम्बन्धी परियोजनाहरु सञ्चालन भएको बताए। उनले कैलाली, कञ्चनपुर, बर्दिया, कालीकोट जिल्लाहरुमा १५ वटा पालिकास्तरीय र ६ वटा वडास्तरीय विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८० अध्यावधिक भएको बताए।

उनले रेडक्रसले विपद् जोखिम न्यूनीकरण, तातो हावा ‘लू’ तथा सरसफाइसम्बन्धी ६ हजार ४ सय वटा सूचना, शिक्षा तथा सञ्चार सामग्री निर्माण गरी परियोजना सञ्चालित जिल्लाहरुमा वितरण गरिएको बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर