



सङ्खुवासभा – सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ। विमानस्थल तुवाँलोले ढाकेपछि १२ दिनदेखि उडान ठप्प भएको हो। वैशाख १० गतेपछि बाक्लो तुवाँलोले विमानस्थल वरपरको डाँडा ढाकेपछि हवाई सेवा अवरुद्ध भएको हो।

मौसम प्रतिकूल भएपछि निजी कम्पनीका विमानले तुम्लिङटारमा उडान भर्न नसकेका बुद्ध एयरका राजीव पोखरेलले जानकारी दिए। उनले अनुसार जनवरी यता ४४ पटक उडान रद्द भएको छ। तुम्लिङटार विमानस्थलमा उडान नभएपछि दैनिक ६५ भन्दा बढी यात्रु अलपत्र पर्ने गरेका छन्।


उडानअवरुद्ध भएपछि सङ्खुवासभा, भोजपुर, धनकुटाका यात्रु प्रभावित भएका छन्। तुम्लिङटार विमानस्थल पहाडी तथा हिमाली जिल्लाको बढी यात्रु हुने विमानस्थलमध्ये एक हो।


उडानका लागि कम्तीमा पाँच किलोमिटर भिजिबिलिटी आवश्यक पर्नेमा अहिले एक किलोमिटर मात्र भिजिबिलिटी रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। तुम्लिङटार विमानस्थलमा बुद्धको एटिआर–७२ ले दैनिक उडान भर्दै आएको थियो। धावनमार्गको स्तरोन्नति भएसँगै गत वर्षदेखि बुद्ध एयरको एटिआर ७२ सिटको जहाजले दैनिक उडान गर्न थालेको थियो।
विश्वकै पाँचौँ अग्लो हिमाल मकालु, अरुण तेस्रो जलविद्युत् आयोजना, पर्यटकका लागि छोटो दूरीको उडानका कारण यहाँ यात्रुको भीडभाड हुने गर्छ।