Aamsanchar

पेट्रोलियम अन्वेषण परियोजनाअन्तर्गत दैलेखमा ‘ड्रिलिङ’ कार्य सुरु

Author Image
आइतवार, वैशाख २३, २०८१

दैलेख – दैलेखमा पेट्रोलियम अन्वेषण कार्य धमाधम चलिरहेको छ। दैलेखको भैरवी गाउँपालिका–१ स्थित जलजलेमा पेट्रोलियम अन्वेषणका लागि आवश्यक पूर्वाधार निर्माणसँगै सर्भे अघि बढेको छ। जलजलेमा २७ घरपरिवारका ४५ रोपनी जग्गा नेपाल सरकारले अधिग्रण गरिदिएपछि पेट्रोलियम अन्वेषण परियोजनाले उत्खनन स्थलमा संरचना निर्माण थालेको थियो। यसअघि भएका विभिन्न चरणको सर्भेपछि आइतबारदेखि अन्वेषणात्मक वेल ड्रिलिङ सुरु भएको छ।

नेपाल सरकार र चीन सरकारबीच सम्पन्न सम्झौता बमोजिम चाइना–एड अन वेल एण्ड ग्यास रिसोर्स सर्भे प्रोजेक्ट अन्तर्गत खानी तथा भूगर्भ विभाग, चाइना जियोलोजिकल सर्भे (सिजीएस) तथा सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनीबाट ड्रिलिङ कार्य सुरुवात भएको हो।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ड्रिलिङ कार्यको उद्घाटन गरेका हुन्। पेट्रोलियम पदार्थको अन्तिम अन्वेषण तथा उत्खननका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण र उपकरण जडान सकिएसँगै अन्वेषणात्मक ड्रिलिङ कार्य सुरु भएको हो।

पेट्रोलियम पदार्थको अन्वेषणात्मक ड्रिलिङ कार्यको उद्घाटन मन्त्री भण्डारीले पेट्रोलियम पदार्थको अन्वेषण तथा उत्खनन् भएमा मुलुक आर्थिक समृद्धिमा टेवा पुग्ने बताए। देशभित्रका यस्ता थुप्रै खानीहरूको अध्ययन अनुसन्धान गरी अन्वेषणतर्फ सरकार केन्द्रित रहेको मन्त्री भण्डारीको भनाइ छ।

‘दैलेखमा पेट्रोलियम पदार्थ भएको पुष्टि भएमा देशलाई आर्थिक रुपमा ठुलो टेवा पुर्‍याउनेछ, त्यसपछि नेपाल पेट्रोलियम पदार्थको आयत होइन निर्यात गर्ने मुलुकका रुपमा चिनिनेछ,’ मन्त्री भण्डारीले भने। तत्कालीन समयको नाकाबन्दीमा केपी शर्मा ओली नेतृत्वको सरकारले सुरु गरेको परियोजनाले सार्थक पाउने उनको भनाइ छ। ‘परियोजना अन्तर्गत अब छिट्टै ड्रिलिङको काम सकिनेछ, यसबाट पेट्रोलियम पदार्थको परिणाम पत्ता लाग्छ, त्यसपछि थप अन्वेषण र उत्खननका कामहरू हुन्छ,’ उनले भने।

पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत उपकरण जडानपछि ड्रिलिङको काम सुरु भएको खानी तथा भूगर्भ विभागको पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेशकुमार नापितले बताए। हाल चिनियाँ प्राविधिक टोलीको टोली अन्वेषणस्थलमा खटिएका छन्। अब चार किलोमिटरसम्म जमिनमुनि ड्रिल गरिनेछ। उक्त ड्रिलिङपछि व्यावसायिक रुपमा निकाल्न मिल्छ या मिल्दैन भन्ने यकिन हुनेछ। ‘यो ड्रिलिङपछि परिणाम र व्यावसायिक रुपमा निकाल्न मिल्छ या मिल्दैन थाहा हुन्छ, यहाँ पेट्रोल ९तेल० छ या ग्याँस छ भन्ने पत्ता लाग्छ, नापितले भने। ड्रिलिङ कार्य सुरु भएको चाररपाँच महिनाभित्र पुरा हुनेछ। दैलेखमा विगत सयौँ वर्षदेखि जमिनमै ग्यासहरू बलिरहेको, पादुकादेखि श्रीस्थानसम्मको क्षेत्रमा पेट्रोलियम पदार्थ तैरिरहेको छ।

त्यो नै प्राविधिक हिसाबले पेट्रोलियम पदार्थ छ भन्नेमा बलियो प्रमाण बनेको पेट्रोलियम अन्वेषण परियोजना प्रमुख नापित बताउँछन्। ‘सयौँ वर्षदेखि जमिनमै ग्यासहरू बलिरहेको छ, पादुकादेखि श्रीस्थानसम्मको क्षेत्रमा पेट्रोलियम पदार्थ तैरिइरहेको अवस्था हो, यो नै पेट्रोलियम पदार्थ छ भन्नेमा बलियो प्रमाण हो, पुष्टि पनि हो, अब कति गहिराइमा छ, कुन–कुन ठाउँमा छ, कति परिमाणमा छ, प्राविधिक र आर्थिक हिसाबले उपयुक्त छ या छैन भन्नेबारे अध्ययन अनुसन्धान गर्नुपर्ने हुन्छ, त्यही अध्ययन अनुसन्धानका कार्यहरू अहिले भइरहेको हो,’ उनले भने।

यसअघि गरिएका सर्भेबाट पेट्रोलियम पदार्थ, ग्यास हुनसक्ने सम्भावनाबारे पत्ता लागेको थियो। दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण गर्न २०७२ मा चीन र नेपाल सरकारबीच द्विपक्षीय समझदारी भएको थियो। २०७६ फागुनमा विभाग र चिनियाँ जियोलोजिकल सर्भे कम्पनीबीच अन्वेषण र उत्खनन् गर्न २ अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सहयोगको सम्झौता भएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर