Aamsanchar

संरक्षणको पर्खाइमा सेनवंशी राजाले प्रयोग गरेको तोप

Author Image
सोमवार, वैशाख २४, २०८१

दमौली –तनहुँको व्यास नगरपालिका-११ स्थित ऐतिहासिक तनहुँसुर दरबारमा रहेको तोप संरक्षणको अभावमा जीर्ण बन्न थालेको छ । दरबार परिसरमा रहेको उक्त तोप संरक्षणको पर्खाइमा रहेको छ ।

सत्रौँ शताब्दीमा सेनवंशीय राजाले प्रयोग गरेको उक्त तोपको संरक्षण गर्नुपर्ने स्थानीय मदन आलेले बताउनुभयो । उहाँले भन्नुभयो, “प्राचीन अवस्थादेखि नै तोप जीर्ण अवस्थामा रहेको छ । यसको संरक्षण गर्नु अत्यावश्यक भइसकेको छ ।” ऐतिहासिक सम्पदालाई जोगाउनुपर्नेमा जोड दिँदै आलेले सत्रौँ शताब्दीमा नै यसको प्रयोग भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “इतिहासको संरक्षण र संवर्द्धन गर्नुपर्छ । यस्ता वस्तुको संरक्षण गरेर यहाँ घुम्न आउने पर्यटकलाई र भावी पुस्तालाई यसबारे जानकारी गराउनुपर्छ ।”

तनहुँसुर घुम्न आउने पर्यटकले तोपलाई उचाल्ने, पछार्ने, पल्टाउने काम गर्न नहुने आलेले बताउनुभयो । उहाँले भन्नुभयो, “तस्बिर खिच्ने क्रममा तोपलाई चलाउने, पल्टाउने काम गरिदिन भएन । स्थानीय सरकारले यसको संरक्षणको पहल गर्नुपर्छ । यसले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउनेछ ।”

उक्त तोपमा केही दिन अगाडि क्षति पुगेको थियो । तोप तोडफोड भएको जस्तो अवस्थामा भेटिएको वडाध्यक्ष दलबहादुर दुराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तोपलाई हल्लाउने, चलाउने गरेर क्षति पुगेको स्थानीयवासीबाट जानकारी पाएको छौँ ।” तोपलाई सुरक्षित राख्नका लागि परिसर आसपासमा तारबार गर्नुपर्ने स्थानीयले माग गरिरहेका वडाध्यक्ष दुराले बताउनुभयो । तत्कालका लागि बजेट अभाव रहेको भन्दै यस विषयमा सरोकारवाला निकायसँग छलफल गरिने उहाँले बताउनुभयो ।

तनहुँसुर सेनवंशीय राजाले राज्य सञ्चालन गरेको ठाउँ हो । तनहुँ जिल्लाको नाम तनहुँसुरबाट अपभ्रंश भएर रहेको भन्ने किंवदन्ती छ । पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनी पछिका आठ सेनवंशी राजाले दुई सय ३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको इतिहास रहेको छ ।

तनहुँसुर दरबारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला र गढीहरू, धारा, तोप तथा अन्य हातहतियार, बारुदीखाना, राजाले न्याय निसाफ तथा कचहरी सञ्चालन गर्ने गद्दीचौतारा, साउने कुवा, कुँडापानी, बाइससिँढी चौतारी, ढुङ्गेसाँगु, फूलपाती ढुङ्गा, रानीपोखरी, धर्मशाला, रानीबगैँचा, भगवतीपानी मन्दिर यहाँका पर्यटकीय सम्पदा हुन् । सन् १६७५ तिरका पाल्पाका शक्तिशाली राजा मुकुन्दसेनले तनहुँसुरलाई आफ्नो राज्यमा मिलाएका थिए । राजा मुकुन्दसेनको मृत्युपरोणान्त तनहुँ प्रदेशका प्रशासक छोरा भृङ्गीसेनले तनहुँलाई स्वतन्त्र राज्य घोषणा गरेका थिए । भृङ्गीसेनका छोरा हम्बिर सेन र धर्माङ्गद सेनबिच तनहुँ राज्यको उत्तराधिकारी को हुने भन्ने विषयमा विवादसमेत भएको जानकारहरू बताउँछन् ।

तनहुँसुरमा हालैमात्र खड्ग कालिका मन्दिरको पुनः निर्माण सम्पन्न भएको छ । पुरातत्त्व विभागको आर्थिक सहयोगमा वि।सं।२०७८ चैतदेखि पुनः निर्माण सुरु भएको ऐतिहासिक महत्वको खड्ग कालिका मन्दिरको काम सकिएर उद्घाटन गरिसकिएको छ । यहाँ रहेको दरबारको वि।सं।२०७६ मा पुरातत्त्व विभागले उत्खनन गरेको थियो । सोही दरबारको नजिकै रहेको खड्गदेवी मन्दिरको पुनः निर्माण गरिएको हो ।

केही समय अगाडिसम्म ओझेलमा रहेको तनहुँसुर अहिले पर्यटकीयस्थलका रूपमा विकास हुन थालेको स्थानीय सञ्जय श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यहाँ सामुदायिक घरबास सञ्चालनमा आएको छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्त्विक एवम् प्राकृतिक सम्पदा तथा जैविक विविधताको संरक्षण गर्दै तनहुँसुर भ्रमण गर्न आउने आन्तरिक एवम् बाह्य पर्यटकका लागि खाना तथा आवासको सहज व्यवस्थापन देवस्थल सामुदायिक घरबास सञ्चालनमा आएको छ ।

विकास र व्यापारको खोजीमा तनहुँसुरका नेवार समुदाय दमौली, चितवन, पोखरा, काठमाडौँलगायतका ठाउँमा बसाइँ सरेर गएका थिए । तनहुँसुरबाट हिमशृङ्खला, महाभारत पर्वत शृङ्खला, कलेस्तीफाट, चुँदीफाट, गोरखा तथा कास्की जिल्लाका विभिन्न स्थान अवलोकन गर्न सकिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर