![](https://aamsanchar.com/wp-content/uploads/2024/11/ramro.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2024/05/InShot_20240509_130301597.jpg)
विराटनगर – मोरङबाट प्रहरीले बिहीबार बिहान ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ । जहदा गाउँपालिका–३ हात्तीबन्दाबाट २ सय १८ किलोग्राम गाँजा बरामद भएको हो । गाँजासहित एकजना पक्राउ परेका छन् ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/08/manav-Finel.gif)
जहदा गाउँपालिका–३ का ३४ वर्षीय भगवान किस्कु पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार मकैबारीभित्र लुकाइछिपाइ राखेको अवस्थामा २ सय १८ किलो गाँजा बरामद भएको हो।
![](https://aamsanchar.com/wp-content/uploads/2024/09/nepal-s-yyy.gif)
मकैबारीभित्र बनाइएको टहरामा गाँजा लैजाँदै गरेको अवस्थामा किस्कुलाई पक्राउ गरिएको जानकारी बस्नेतले दिए । मकैबारीभित्र लुकाएर राखिएको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्सपेक्टर किशोर तामाङ र इलाका प्रहरी कार्यालय रानीबाट इन्सपेक्टर सन्दीप बेलबासेको नेतृत्वमा खटिएको संयुक्त टोलीले बिहान १ :३० बजेतिर गाँजा बरामद गरेर किस्कुलाई पक्राउ गरेको हो ।
![](https://aamsanchar.com/wp-content/uploads/2025/01/birta-h.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2024/09/C-REC-1.67-MB.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2024/12/kasham.gif)
बरामद भएको गाँजासहित पक्राउ परेका किस्कुलाई जिल्ला प्रहरी कार्यालय मोरङमा लगेर थप अनुसन्धान अघि बढाइएको छ । किस्कुविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । उक्त गाँजा भारततर्फ कटाउने तयारी गरिएको प्रहरीको भनाइ छ ।
प्रहरीले बरामद गर्दा प्लाष्टिकको बोराभित्र भुस हालेर त्यहाँभित्र गाँजा राखिएको थियो । ‘गाँजा बरामद भएको स्थान नेपाल–भारत सीमानजिकै पर्छ । पहाडी जिल्लामा उत्पादन भएको गाँजा अवैध हिसाबले भण्डारण गरेर भारततर्फ लैजान खोजिएको हो,’प्रहरी स्रोतले भन्यो,‘तत्काल बरामद गर्न सकिएका कारण भारत भने पुर्याउन पाएनन् । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’
स्रोतका अनुसार पक्राउ परेका किस्कु गाँजाको अवैध धन्दा चलाउने गिरोहका भरिया मात्रै हुन् । गाँजाका वास्तविक कारोबारीको भने पहिचान खुल्न बाँकी छ । प्रारम्भिक अनुसन्धानबाट प्राप्त विवरण र किस्कुले दिएको जानकारीका आधारमा गाँजाको अवैध धन्दामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।