Aamsanchar

काठमाण्डौका कवाड व्यवसायीले प्रधानमन्त्रीलाई गुहारे

Author Image
शनिवार, वैशाख २९, २०८१

काठमाण्डौ – आफूहरुको व्यवसायमा काठमाण्डौ महानगरपालिकाले अवरोध गरेको भन्दै कवाड व्यवसायीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गुनासो पोखेका छन् ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कवाड व्यवसायी समाज नेपालका अध्यक्ष रामकेवल गुप्ताको नेतृत्वमा पुगेका व्यवसायीले काठमाण्डौ महानगरपालिकाभित्र दर्ता भई आफ्नो पेशा तथा व्यवसाय गर्दै आएका कवाड व्यवसायीलाई विस्थापित गराउने गरी वडा कार्यालयबाट परिपत्र जारी गरिएको भन्दै गुनासो गरेका हुन् ।

महानगरले आफूहरुको व्यवसायिक फर्मको दर्ता नवीकरणसमेत नगरेको उनीहरुको गुनासो छ । व्यवसायीले आफूहरुले प्रचलित कानूनबमोजिम दर्ता भएर सरकारलाई कर तिर्दै आएको कुरा पनि प्रधानमन्त्री दाहाललाई अवगत गराएका छन् ।

कवाड व्यवसायीका घर तथा टहराको संरचनालाई क्षति पुग्ने वा भत्काउने कार्य नगर्नु नगराउनु भनि उच्च अदालतबाट काठमाण्डौ महानगरपालिकाको नाममा आदेशसमेत जारी भएको कुरा उनीहरुले प्रधानमन्त्री प्रचण्डलाई स्मरण गराएका छन् । प्रधानमन्त्री प्रचण्डले कवाड व्यवसायीको व्यवसाय सुरक्षाको प्रत्याभूति गराउनको लागि सरकारले आवश्यक कदम चाल्ने विश्वास दिलाउनुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 79

प्रतिक्रिया (०)