Aamsanchar

नाष्ले कन्यामको चिया टेष्टिङ सेन्टरलाई प्राविधिक सहयोग गर्ने

Author Image
मङ्गलवार, जेठ १, २०८१

इलाम-इलामको कन्याममा निर्माण भएको चिया परीक्षण तथा प्रवर्द्धन केन्द्र सञ्चालनका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)ले प्राविधिक सहयोग गर्ने भएको छ । चियाको राजधानीको रुपमा परिचित सूर्योदय नगरपालिकाको कन्याममा कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको लगानीमा देशमै पहिलो पटक निर्माण भएको केन्द्र सञ्चालनका लागि आवश्यक पर्ने प्रविधि जनशक्ति नाष्टले उपलब्ध गराउने भएको छ ।

२३ करोड रुपियाँको लगानीमा निर्माण सम्पन्न भएको केन्द्रका लागि कोशी प्रदेश सरकारले ८० र सूर्योदय नगरपालिकाले २० प्रतिशत लगानी गरेको सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले जानकारी दिनुभयो । केन्द्रको निर्माण सम्पन्न भए पनि केन्द्रलाई आवश्यक पर्ने उपकरण र प्राविधिक जनशक्तिको अभाव थियो ।

नाष्टले सुनसरीको धरानमा प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएपछि चियासहितका कृषिबाली र खाद्यबालीको प्राविधिक अवस्था बुझिरहेको छ ।

नाष्टले इलामको सूर्योदय नगरपालिकामा चिया उद्योगी किसान र नगरपालिकासँग पहिलो चरणमा संवाद गरेको छ । नाष्टका उपकुलपति प्राध्यापक डाक्टर दिलीप सुब्बाले नाष्टको काम नै प्रविधिमा सहयोग गर्ने भएकाले कन्याको चिया परीक्षण केन्द्रका लागि आवश्यक प्राविधिक जनशक्ति उपलब्ध गराउने जानकारी दिनुभयो । उहाँले परीक्षण केन्द्रका लागि विभिन्न उपकरण आवश्यक पर्ने बताउनुभयो । ‘उपकरण भएमा तत्काल चिया परीक्षण गर्नका लागि हामी प्राविधिक जनशक्तिको व्यवस्था गर्न सक्छौं, उपकुलपति सुब्बाले भन्नुभयो ।

नाष्टले पहिलो चरणमा चियाको प्राविधिक पक्षका विषयमा छलफल गरेको छ । प्राविधिक रुपमा नेपालको चिया कहाँ चुकेको छ भन्ने पत्ता लगाउन नाष्टले पहल सुरु गरेको नाष्टका सचिव डाक्टर रविन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो । नाष्टले नगरको समन्वयमा भएको छलफलमा चिया उद्योगी र किसानले चिया लगायत कृषिबाली, खाद्य परिकारमा देखिँदै आएका समस्या राखेका थिए । चिया उद्योगी उदय चापागाईंले चियालाई अर्गानिक नगरेसम्म समस्या आइरहने बताउनुभयो । उहाँले माटो परिक्षणदेखि नेपाली चियाको जात प्रमाणीकरण हुनुपर्नेमा जोड दिनुभयो । उहाँले चिया टेष्टिङ सेन्टरमा विदेशी वायरहरु ल्याउन सके मात्र पनि नेपालको चिया विदेश निर्यात हुने जानकारी दिनुभयो ।

सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले चिया क्षेत्रमा यावत समस्या रहे पनि संघीय र प्रदेश सरकारले समस्या समाधान गर्न नसघाएको बताउनुभयो । उहाँले नगरले चिया नीति बनाए पनि सङ्घ र प्रदेशले अझै चियाको नीति बनाउन नसक्दा समस्या थपिएको बताउनुभयो । उहाँले वर्षेनी भारतले परिक्षणका नाममा नेपाली चियालाई अवरोध गर्ने गरेको बताउँदै नेपालले नै ल्याब स्थापना गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ´यो परीक्षण केन्द्रले चियाको स्वाद मात्र चखाउने हो, चियाको गुणस्तर मापन गर्नका लागि सरकारले ल्याबको व्यवस्था गर्नुपर्छ ।`

नेपाल चिया तथा कफी विकास बोर्ड चिया विस्तार आयोजना फिक्कलका चिया प्राविधिक नवीन कोइरालाले परिक्षण केन्द्र सञ्चालनका लागि सेम्पल भाडा, चिया जोख्ने मेसिनलगायतका उपकरण आवश्यक पर्ने बताउनुभयो । उहाँका अनुसार चियाको परीक्षण गर्दा रङ, बास्ना, पत्ताको आकार थाहा पाउन सकिन्छ । केन्द्र सञ्चालनमा आएपछि चिया तापक्रम पुग्यो पुगेर, वेदरको अवस्था थाहा पाउन सकिन्छ । जसले गर्दा विदेशी वायरले आफूले चाहेको स्वादको चिया खरिद गर्न सक्नेछन् । चियाको राजधानीका रुपमा चिनिएको सूर्योदय नगरपालिकामा चिया टेस्टिङ र चिया अक्सन सेन्टर स्थापना गर्न चिया उद्योगीले माग गर्दै आएका थिए । नगरप्रमुख राईका अनुसार अब बिदेशी चियाका पारखीले कन्याम आएर चियाको स्वाद लिन र अध्ययन गर्न सक्नेछन् ।

नेपालकै सबैभन्दा बढी अर्थोडक्स चिया सूर्योदयमा उत्पादन हुने गरेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आ.व. २०७९-८० को तथ्याङ्क अनुसार नेपालमा कुल २०,२३० हेक्टर जमिनमा चिया रोपण गरिएको छ । आ.व. २०७९÷८० मा २ करोड ६४ लाख केजी तयारी चिया उत्पादन भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार उक्त अवधिमा १ करोड ६५ लाख केजी चिया निर्यात गरेर नेपालले ३ अर्ब ९४ करोड रुपियाँ वैदेशिक मुद्रा आर्जन गरेको छ । नेपालले गरेको चियाको कुल निर्यातमध्ये ९७.८० प्रतिशत निकासी भारतमा हुने गरेको छ । बाँकी चिया स्वदेशसहित तेस्रो देशमा खपत हुने गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर