Aamsanchar

महिलालाई कुवेतमा पठाएर बन्धक बनाएको आरोपमा दुई जना पक्राउ

Author Image
बुधवार, जेठ २, २०८१

काठमाडौँ – काभ्रे घर भएकी ४५ वर्षीया महिलालाई कुवेतमा पठाएर बन्धक बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रतिष्ठित कम्पनीमा ‘आकर्षक तलब आउने काममा लगाउँछौँ’ भनेर कुवेतमा पुर्‍याएर उनीहरुले बन्धक बनाएका हुन् ।
पीडितलाई कुवेतस्थित नेपाली राजदूतावास सँग समन्वय गरेर उद्धार गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले  बताए ।

काठमाडौँबाट महिलालाई कुवेत पठाउने गिरोहका गोपाल सुनार उर्फ राकेश र आकाशबाबु विक उर्फ आयुषलाई प्रहरीले पक्राउ गरेको छ । दैलेख घर भएका २४ वर्षीय सुनार र गोरखा घर भएका २५ वर्षीय विकलाई बौद्धस्थित पिपलबोटबाट पक्राउ गरिएको एसपी रेग्मीले जानकारी दिए ।

पीडितको दाइले घटनाबारे प्रहरीलाई खबर गरेपछि डीएसपी गोविन्द पन्थी नेतृत्वको टिमले अनुसन्धान गरेका हुन् । गोपाल सुनारको समूहले हालसम्म २५ जना महिलाहरूलाई कुवेत पठाएको अनुसन्धानबाट थाहा भएको छ । उनीहरूलाई कारबाही गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयले मानव बेचबिखन ब्युरोमा पठाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 18

प्रतिक्रिया (०)