Aamsanchar

हलेसी तुवाचुङका डढेलो तथा आगलागीपीडितका लागि दुई लाखभन्दा बढी राहत सङ्कलन

Author Image
शुक्रवार, जेठ ४, २०८१

खोटाङ-खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका डढेलो तथा आगलागीपीडितको सहयोगका लागि राहत रकम सङ्कलन गरिएको छ । सात राजनीतिक दलको नगर कमिटिको अगुवाइमा जेठ ३ गतेसम्ममा दुई लाख बढी रकम सङ्कलन भएको छ ।

२३३ जना दाताबाट हालसम्म दुई लाख ११ हजार ६५ रुपियाँ सङ्कलन भएको हो । नगरपालिकामा क्रियासिल राजनैतिक दलको गत वैशाख १८ गतेको बैठकले अग्निपीडितको सहयोगार्थ संयुक्त रुपमा आर्थिक सङ्कलन गर्ने निर्णय गरेको थियो । नगरमा क्रियाशिल दलले अग्निपीडितको सहयोगका लागि घरदैलो अभियानसँगै ‘क्यूआर’ कोड समेत सञ्चालनमा ल्याएका छन् । नगरपालिकामा डढेलो तथा अन्य कारणबाट करिब ५० घर, मतान र गोठ जलेको छ ।

११ वडा रहेको नगरपालिकामा विभिन्न मितिमा लागेको डढेलो र आगलागीबाट विस्थापित भएका दर्जनौं स्थानीयको पुनर्स्थापनाका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी, राप्रपा र नेकपा (एकीकृत समाजवादी)को नगर कमिटिले सहयोग अभियान थालेको हो । डढेलोबाट घर, गोठ तथा पशुचौपाय गुमाएका पीडितको सहयोगार्थ सुरु गरिएको अभियान केही समय जारी रहने हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार निवासी एमाले खोटाङका सचिव सुरेन्द्रकुमार राईले बताउनुभयो ।

दलका नगर समितिले अग्निपीडितलाई सहयोग गर्ने स्थानीय सरकार, संघसंस्था लगायतलाई धन्यवाद ज्ञापन गर्दै थप सहयोग अभियान थालेका हुन् । सात दलका नगर कमिटिले नेता, कार्यकर्ता, जनप्रतिनिधि, कर्मचारी, व्यापारी, सामाजिक अभियान्ता र मनका धनीहरुलाई सहयोग अभियानमा जोडिन आह्वान गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 20

प्रतिक्रिया (०)

सम्बन्धित खबर