![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/05/InShot_20240517_145210266.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
झापा – मानव–हात्ती द्वन्द्व न्यूनीकरण गरी वन क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रणका लागि डिभिजन वन कार्यालय झापाले साइरनजडित अत्याधुनिक ड्रोनको प्रयोग गर्ने भएको छ ।
१० लाख रुपैयाँ खर्च गरेर ड्रोन खरिद गरिएको कार्यालयका वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिए । उनका अनुसार दुई किलोमिटर वरपरको दृश्य कैद गर्नसक्ने गरी उक्त ड्रोनमा शक्तिशाली क्यामेरा जडान गरिएको छ । ड्रोनको तौल साढे सात किलोग्राम रहेको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
ड्रोनको प्रयोगले जंगली हात्तीको अवस्था अनुगमन गर्न र गाउँ पसेको स्थितिमा हात्तीलाई सुरक्षितरूपले जंगलतर्फ फर्काउन महत्त्वपूर्ण सघाउ पुग्ने उप्रेतीले बताए। जंगल क्षेत्रमा बढिरहेको वन्यजन्तु चोरी तस्करी नियन्त्रणमा ड्रोन उपयोगी हुने वन कार्यालयको आशा छ ।
ड्रोनलाई मोडिफाइ ९परिमार्जन० गरेर नाइटभिजन ९रातिको दृश्य० बत्ती र साइरन जडान गरिएको छ । यसलाई रात्रिकालीन अवस्थामा पनि प्रयोग गर्न सकिने बनाइएको उनले जानकारी दिए । उनका अनुसार ड्रोनले बजाउने साइरनको आवाज सुनेर जंगली हात्ती धपाउन सजिलो हुनेछ ।
यसअघि कार्यालयले हात्ती धपाउन साइरन जडान गरिएका दुई वटा सवारीसाधनलाई प्रयोगमा ल्याउने गरेको थियो । झापामा हात्तीबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि विद्युतीय घेराबेरा, सुरुङ, टुङ, पटाकालगायत विभिन्न उपाय प्रयोग भइसकेका छन् । ती उपायमध्ये विद्युतीय घेराबेरा सबैभन्दा प्रभावकारी देखिएको छ । जिल्लाको उपल्लो बाहुनडाँगीदेखि तल्लो भू–भाग कचनकबलसम्म पछिल्लो समय विद्युतीय घेराबेरा विस्तार भइरहेको छ ।
“हामीले पहिल्यै ड्रोनको प्रयोग गरेर हात्ती धपाउन औपचारिक परीक्षण गरिसकेका छौँ”, वन डिभिजन कार्यालयका वन अधिकृत उप्रेतीले भने, “मेचीनगर नगरपालिका–१४ स्थित दुहागढीमा गाउँ प्रवेश गरेका हात्ती ड्रोनको आवाज सुन्नेबित्तिकै जंगलतर्फ भागेका थिए ।”
भद्रपुर नगरपालिका–१ निवासी अनिल प्रधानले बनाएको साइरनजडित ड्रोनले चार वर्षअघि हात्ती धपाइएको थियो । जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर ड्रोन परीक्षण लागि वन कर्मचारीलाई तालिम दिइएको छ ।
ड्रोनमार्फत मानव–हात्ती द्वन्द्व न्यूनीकरण प्रभावकारी सावित भएमा आगामी वर्ष प्रविधियुक्त अर्को ड्रोन खरिद गर्ने कार्यालयको योजना रहेको उप्रेतीले जानकारी दिए ।