Aamsanchar

पूर्वमन्त्री जोशीको मुद्दामा आजलाई पेसी

Author Image
बुधवार, जेठ ९, २०८१

काठमाडौं – पूर्वमन्त्री गोविन्दराज जोशीको मुद्दामा आजलाई पेसी तोकिएको छ । मंगलबार ‘हेर्दा हेर्दै’मा परेको मुद्दामा आजलाई पेसी तोकिएको हो ।

जेठ १ गतेदेखि नै सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासमा हेर्दा हेर्दैमा राखिएको यो मुद्दामा आजलाई पेसी तोकिएको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०५९ सालमा अनुसन्धान थालेकोमा २०६० पुस १८ गते जोशीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । जोशीलाई तीन करोड ९३ लाख ६२ हजार ५७६ रुपैयाँको विगो कायम गरी मुद्दा दायर भएको थियो ।

जोशीसँगै गैरकानुनी सम्पत्ति लुकाएको आरोप पत्नी सविता पन्त, जेठीसासू चोलाकुमारी पन्त, सासू नीरकुमारी, साला बासुदेव पन्त, अनि बासुदेवका कान्छा ससुरा ताराराज पाण्डेलाई समेत मुद्दा चलाएको थियो । तर, २०६३ कात्तिक ३० मा विशेष अदालतले अनुसन्धानको हदम्यादका आधारमा जोशीलाई सफाइ दिएको थियो ।

त्यसविरुद्ध अख्तियार र जोशी दुवैले ०६९ सालमा सर्वोच्चमा रिट दायर गरेकोमा सर्वोच्चले ०७० भदौ १२ मा विपक्षी झिकाउने आदेश गरेका थियो । त्यसपछि ब्युँतिएको जोशीको मुद्दामा झन्डै ११ वर्षपछि नियमित सुनुवाइ अघि बढेको हो । जोशीविरुद्धको भ्रष्टाचार मुद्दाको फैसला अब न्यायाधीशद्वय शर्मा र ढकालको इजलासले नै गर्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 55

प्रतिक्रिया (०)