Aamsanchar

रातो मच्छिन्द्रनाथको रथ ताने महिलाले मात्रै

Author Image
बिहिवार, जेठ १०, २०८१

काठमाण्डौ – ललितपुरको रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा आज बिहानै महिलाले मात्र रथ तानेर लगनखेलको इतिटोलमा पुर्‍याएका छन् । रथयात्राको क्रममा हरेक वर्ष नरिवल खसाल्ने जात्राको भोलिपल्ट बिहान महिलाले मात्र रथ तान्नुपर्ने परम्परा याक मिसाया भुज्याअनुसार आज बिहान महिलाले तानेर इतिटोल पुर्‍याएका हुन् । हिजो रथको टुप्पोबाट नरिवल खसालिएको थियो । यसवर्षको रथयात्रा गएको बैशाख २९ गते शुरु भएको हो ।

रातो मच्छिन्द्रनाथको कुलेदेवी पूजा आउँदो १७ गते हुने भएको छ । हिजो नरिवल खसाल्ने जात्राको दिन बाराही गुठियार, गुठि संस्थानका प्रतिनिधि सहितको टोलीले कूलदेवीको पूजाको साइत हेर्नुपर्ने परम्परा अनुसार आउँदो १७ गतेको लागि साइत निकालेको हो । कुलदेवी पूजा ४ दिनसम्म गरिन्छ ।

मच्छिन्द्रनाथको कुलदेवी भनेर गाबहालमा रहेको पूर्णचण्डीलाई पुजा गरिन्छ । कुलदेवीको पूजाको दिन अर्थात जेठ १७ गते नै रथलाई लगनखेलबाट जावलाखेल तान्नको लागि साइत हेरिनेछ । रथ जावलाखेलमा पुर्‍याएको चार दिनमा भोटो देखाइनेछ । भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुंगमती लगिनेछ भने मीननाथको रथलाई तानेर टंगल लगिनेछ । त्यससँगै यसवर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 89

प्रतिक्रिया (०)

सम्बन्धित खबर