Aamsanchar

कनकाईमाई नदीमा बाेरामा बालुवा, माटो भरेर तटबन्ध गर्दै स्थानीय

Author Image
आइतवार, जेठ १३, २०८१

झापा- कनकाई नगरपालिका–४ र शिवसताक्षी नगरपालिका–१० स्थित नवज्योति टोलका एक सय घरपरिवारले विगत तीन वर्षदेखि नियमित रूपमा कनकाईमाई नदीमा तटबन्ध गर्दै आएका छन् ।

जनताको तटबन्ध कार्यक्रम लागु भएर उक्त नदीमा आएको बजेटले नदीको पश्चिम किनारामा तटबन्ध भएर नदी पूर्वतर्फ मोडिएसँगै आफूहरूले बर्खाको बेलामा रातभर खोला रुँगेर बस्नु परेको स्थानीय हिमाल भण्डारीले बताउनुभयो । पछिल्ला वर्षमा जनताको तटबन्ध कार्यक्रममा बजेट नभएको भन्दै शिवसताक्षी नगरपालिका गैडेमा रहेको जनताको तटबन्ध कार्यक्रमले विगत तीन वर्षदेखि खाली प्लास्टिकका बोरा मात्रै दिँदै आएको र सोही बोरामा बालुवा, माटो भरेर हरेक वर्ष खोलाको किनारमा स्थानीयले राख्दै आएको स्थानीय टेकनाथ ढकालले बताउनुभयो । गाउँलेले आफूहरूले प्रत्येक घरको आफूले सक्ने जति रकम सहयोग उठाएर केही थान जालीसमेत खरिद गरेर माटोले भरिएको बोरालाई जालीले बेरेर राख्ने गरिएको र यसबाट केही हदसम्म खोला नियन्त्रणमा आएको ढकालले बताउनुभयो ।

असारको पहिलो सातादेखि जब खोला राति कराउँछ, छोराछोरी निदाए पनि घरमुलीको भने निद्रा हराउने गरेको स्थानीय चन्द्रकला निरौलाले बताउनुभयो । खोलानजिकै ५० मिटरको क्षेत्रमा ठुलो मानवीय बस्ती रहेको र अघिल्लो वर्षसमेत चार घर पूरै नदीले कटान गरेर लगिदिएको निरौलाले बताउनुभयो ।

यता जनताको तटबन्ध कार्यक्रम  प्रमुख यादव बराल झापामा जनताको तटबन्ध कार्यक्रम  अन्तर्गत झापाका नदीका लागि थप बजेट कार्यक्रम  भनेर पठाए पनि सरकारले बजेट छैन भनेर रकम नदिँदा नदी नियन्त्रणका काम प्रभावित बनेको बताउनुभयो । “हामीले यहाँका जनतालाई चाहेर पनि सहयोग गर्न सकेनौँ, उहाँहरूले आफैँ तत्परता देखाएर नदी नियन्त्रणको कोसिस गरिरहनुभएको हो । यस पटक हामीले एक हजार थान खाली बोरा सहयोग गर्न सक्यौँ,” बरालले भन्नुभयो ।

झापामा जनताको तटबन्ध कार्यक्रम  अन्तर्गत कनकाईमाईसहित बिरिङ, मेची, मावा र कमल र रतुवा नदीको तटबन्धनलगायतको कार्य गर्दै आए पनि पछिल्लो वर्षबाट भने बजेटको अभावमा नदी नियन्त्रणका काम रोकिएको बरालले बताउनुभयो । “कृषकहरू कार्यालयमा डेलिकेसन आउनुहुन्छ हामीले जे सत्य हो त्यही बताउनै पर्छ । कनकाई र शिवसताक्षीका जनताले भने खाली बोरा लिएर जानुभयो,” बरालले भन्नुभयो ।

यता स्थानीय सरकार समेतले आफूहरूलाई सामान्य तार र खाजाको रकम सहयोग गरिदिएमा आफैँ खोला बाँध्ने स्थानीय बेलप्रसाद खतिवडाले बताउनुभयो । आफ्नो खेती किसानीसमेत गर्नुपर्ने हुँदा वर्षको हरेक डेढ महिना जति गाउँले दैनिक बिहान तीन घण्टाका दरले श्रमदान गर्दै आएको उहाँले बताउनुभयो । अघिल्लो वर्षसमेत नदी नियन्त्रणका लागि एक सय थान आग्ला लगाउने कार्य गरिसकिएको र यस वर्षसमेत असार १५ सम्म नियमित बिहान तीन घण्टा काम गरेर थप सय थान आग्ला बनाउने लक्ष्य राखिएको खतिवडाको भनाइ छ । यसो गर्दा गाउँ थोरै भए पनि बचाउन सकिने उहाँको भनाइ छ । “हामीलाई बजेट नभएपछि प्राविधिक इन्जिनियर तथा स्थानीय र प्रदेश र सङ्घ सरकारले समेत ध्यान नदिने रहेछ । आफ्नो घरखेत नै यहीँ भएपछि अन्यत्र बसाइ हिँड्न पनि सकिएन,” स्थानीय ईश्वरी बस्नेत भन्नुहुन्छ ।

नियमित नदी कटान पूर्वतर्फ मोडिएसँगै नजिकै रहेका कनकाई बालविकास केन्द्र र यस आसपासका दुई सय घरपरिवार नदी कटानको जोखिममा रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 55

प्रतिक्रिया (०)