Aamsanchar

श्रद्धालुले दर्शन गर्न पाएनन् ´खुवालुङ`

Author Image
मङ्गलवार, जेठ १५, २०८१

वराहक्षेत्र-सप्तकोशी नदीको अरुण, तमोर र दुधकोशीको सङ्गम त्रिवेणीमा देखिने खुवालुङ (ढुङ्गा) लाई स्थानीय बासिन्दा र किराँती समुदायले यस वर्ष पुज्न पाएनन् । पुस्तौँदेखि पुजिँदै आएको खुवालुङ गेगरले पुरिएकाले यस वर्ष श्रद्धालुले दर्शन गर्न नपाएका हुन् ।

हिउँदमा पानीको सतह कम हुँदा देखिने खुवालुङ पुसदेखि जेठसम्म खुल्ने गरेको थियो । गत वर्ष ताप्लेजुङको हेवा खोलामा बाढीसँगै बगेर आउने बालुवा, लेदो, माटोे र थुप्रिएको थेग्य्रानका कारण खुवालुङ पुरिँदा श्रद्धालुले पुज्न र दर्शन गर्न नपाएका हुन् । तमोर नदीमा च्यानल खन्ने र नदीको थेग्य्रानको उचित व्यवस्थापन नहुँदा हिउँदमा खुवालुङ देख्न नसकिएको स्थानीय भीषण राईले जानकारी दिनुभयो । थेग्य्रानका कारण तमोर नदीको टाङ्केरास्थित सङ्गममा पानीको सतह बढ्दै जाँदा खुवालुङ डुब्दै गएको हो ।

हिउँदमा खुवालुङ दर्शनको महत्वपूर्ण समय भए पनि खुवालुङ पानीभित्रै डुब्दा दर्शनार्थीले दर्शन गर्न नपाएको खुवालुङ संरक्षणका अभियान्ता दिनेश खम्बुले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “खुवालुङ बर्सेनि पुरिँदै गए पनि संरक्षणका निमित्त ठोस योजना अगाडि नसार्दा खुवालुङ संरक्षणको काम हुन सकेको छैन । किराँत समुदायको आस्थासँग जोडिएकाले सरकारले नीतिनिर्माण गरेरै खुवालुङको संरक्षणमा लाग्नु पर्छ ।”

अरुण, तमोर र दुधकोशी मिसिने स्थान त्रिवेणीमा रहेको खुवालुङ २०७७ सालमा यो एकाएक चर्चामा आएको थियो । चर्चासँगै अभियन्ताले खुवालुङ पहिचान जोगाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकारसँग माग गरे पनि काम अगाडि बढ्न नसकेको स्थानीय सुरेन राईले बताउनुभयो । खुवालुङ संरक्षणका लागि राज्य गम्भिर भएर नलागेको र जुनसुकै सरकार आए पनि आश्वासन दिने काम मात्र भएको खुवालुङ संरक्षणकर्मीको भनाइ छ ।

किराँती समुदायको आस्थाको केन्द्रका रूपमा रहेको खुवालुङलाई कोशी स्नान गरी पुज्ने चलन रहेको खुवालुङ संरक्षण अभियान्ता दिनेश खुम्बुले बताउनुभयो । उहाँका अनुसार किराँत समुदायका नाक्छोङ्ग, बिजुहरूले हरेक वर्षको माघ १ गते खुवालुङ पुजेर शक्ति नवीकरण गर्ने र वर्षभरि आआफ्नो थातथलोमा रही काम गर्ने चलन रहेको छ ।

किराँतको सभ्यता बोकेको भीमकाय रूपमा देखिने खुवालुङ दुई÷तीन वर्षयता पुरिँदै जाँदा अहिले देख्नै मुस्किल भएको खुम्बु बताउनुहुन्छ । कोशीमा आउने ठुला भेलले पनि कुनै असर पुर्याउन नसकेको विशाल खुवालुङलाई पहिला जुन स्थितिमा देखिन्थ्यो त्यही रूपमा ल्याउन राज्यले सहयोग गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।

के हो खुवालुङ ?

पानीमा गाडिएको ढुङ्गा भन्ने अर्थ प्रतीत गर्ने ‘खुवालुङ’ ले किराँती समुदायको आस्थालाई बोकेको छ । सप्तकोशीमा तमोर नदी मिसिने स्थान त्रिवेणीमा रहेको खुवालुङलाई किराँतको प्रस्थानविन्दुका रूपमा लिइने गरिएको छ । यहीँबाट किराँत समुदायका पुर्खाहरू कोही सुनकोशी पछ्याउँदै, कोही दुधकोशी र तमोर पछ्याउँदै शीरसम्म पुगेर बसोबास भएको पाइन्छ ।

किराँत धर्मग्रन्थ ‘मुन्धुम’ मा उल्लेख भए अनुसार किराँत समुदायले कुनै कार्य सुरु वा अन्त्य गर्दा खुवालुङको नाम उच्चारण गर्ने परम्परा छ । मुन्धुम अनुसार किराँतीको पुर्खा यही खुवालुङलाई सिमाना मानेर विभिन्न क्षेत्रमा फैलिएको जनविश्वाससमेत रहिआएकाले किराँत समुदायले यसलाई जोगाई धार्मिक पर्यटनको हब बनाउन माग गरेको खुवालुङ संरक्षण समितिले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 85

प्रतिक्रिया (०)