Aamsanchar

सुनसरीमा गणतन्त्र दिवसमा वृक्षारोपण

Author Image
मङ्गलवार, जेठ १५, २०८१

इनरुवा- सुनसरीको विभिन्न स्थानीय तहमा १६ औँ गणतन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । दिवसको अवसरमा जिल्ला सदरमुकाम इनरुवामा वृक्षारोपण कार्यक्रम गरिएको हो ।

इनरुवा नगरपालिका, जिल्ला प्रशासन कार्यालय र सरकारी कार्यालयहरूको समन्वयमा इनरुवा १ को महानन्द पञ्चवटी पार्कमा वृक्षारोपण गरिएको छ । इनरुवा १ मा गणतन्त्र दिवस २०८१ को अवसरमा पार्कमा वृक्षारोपण गरिएको हो ।

दिवसको अवसरमा इनरुवा नगर प्रमुख केदार भण्डारीले गणतन्त्रले संस्थागत गरेको सङ्घीयता अभ्यास भएको छोटो समयमा तीनै तहको सरकार संवृद्ध हुँदै गएको बताउनुभयो। उहाँले सङ्घीयतापछि सेवा प्रवाहका तथा विकास निर्माणका काम नयाँ ढङ्गले अघि बढेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले गणतन्त्र दिवसको अवसर पारेर रोपिएको बिरुवा स्थानीय तह तथा वडा कार्यालयले महत्वका साथ अपनत्व लिई संरक्षण गर्ने विश्वास व्यक्त गर्नुभयो । इनरुवा उपप्रमुख विनीता मेहताले विभिन्न जातका बिरुवा रोपिएको जानकारी दिनुहुँदै हरियाली बढाउन र विकास तथा समृद्धिका लागि वृक्षारोपण गरेको बताउनुभयो ।

वृक्षारोपण कार्यक्रममा इनरुवाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौला, प्रहरी उपरीक्षक विपिन रेग्मी, कर्मचारीहरू तथा स्थानीय सरोकारवाला लगायतको सहभागिता रहेको थियो । उता हरिनगर र देवानगञ्जमा समेत प्रभातफेरी गरेर गणतन्त्र दिवस मनाएको छ । यसैबिच १६औँ गणतन्त्र दिवसको अवसरमा इनरुवा जेसीजले ट्राफिक सचेतना तथा सडक सुरक्षा सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । इनरुवा ४, बस चौकमा सरोकारवालाहरूको उपस्थितिमा ट्राफिक सचेतना तथा सडक सुरक्षा सम्बन्धी कार्यक्रम सम्पन्न भएको जेसीज सत्य यादवले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर