Aamsanchar

मेलमिलापकर्ताका लागि पुनर्ताजगी तालिम सम्पन्न

Author Image
मङ्गलवार, जेठ १५, २०८१

इनरुवा-सुनसरीको देवानगञ्ज गाउँपालिकामा मेलमिलापकर्ताहरूका लागि पुनर्ताजगी तालिम सम्पन्न भएको छ । जजन्युज मिडिया प्रालिको आयोजना तथा प्राविधिक सहयोगमा सञ्चालित तालिम सम्पन्न भएको हो ।

तालिम गाउँपालिकाका उपाध्यक्ष कुमारी विभा यादवको अध्यक्षता र गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । तालिम समापनमा बोल्नुहुँदै उपाध्यक्ष यादवले यस प्रकारको तालिमले दक्ष मेलमिलापकर्ता उत्पादनमा सहयोग पुग्ने भन्दै आगामी दिनमा पनि तालिमलाई निरन्तरता दिइने बताउनुभयो ।

न्यायिक समितिका आएको उजुरीको निष्पक्ष भएर सुनुवाइ गरेको समेत यादवले बताउनुभयो । यादवले गाउँपालिकाको १, २ , ४ र ४ नम्बर वडामा मेलमिलाप केन्द्र स्थापना भएको र बाँकीमा थप भएका मेलमिलापकर्ताहरूलाई समेटिएर ५, ६ र ७ नम्बर वडामा मेलमिलाप केन्द्र स्थापना गर्ने योजनामा रहेको बताउनुभयो । उहाँले गाउँमा मेलमिलापकर्ता तथा दक्ष जनशक्ति उत्पादन गरी न्यायिक कार्यलाई छिटो छरितो सम्पादन गर्न मेलमिलापमा जोड दिइने बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षमा थप आधारभूत तालिम र काम गर्दै आएकाहरूको लागि पुनर्ताजगीको व्यवस्थापन गर्न गाउँपालिका कार्यपालिका र गाउँसभासंग समन्वय गर्ने बताउनुभयो ।

प्रमुख अतिथि तथा गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले मेलमिलापकर्ताहरूको क्षमता विकास गर्ने कार्यक्रमहरू गर्न, वडामा मेलमिलाप केन्द्र स्थापना तथा न्यायिक समितिका लागि बजेट विनियोजन गर्ने बताउनुभयो । उहाँले मेलमिलापकर्ताहरू गाउँको विकासमा समेत सहयोग गर्ने भएकाले उनीहरूको पक्षमा गाउँपालिकाले काम गर्ने बताउनुभयो । त्यस अवसरमा प्रशिक्षार्थीहरूका तर्फबाट रेखा सरदार र महानन्द मेहता सहितले बोल्नुभएको थियो । दुई समूहमा २५.२५ जना गरी ५० जना सहभागी भएको तालिममा प्रमुख प्रशिक्षकमा अधिवक्ता शुकदेव चौधरी , इन्सेकका दीपेन्द्र झा तथा प्रशिक्षकहरूमा मेलमिलापकर्ता जयकृष्ण यादव, प्रहरी निरीक्षक महेश भट्टराई, पत्रकार रवीन्द्र यादव र देवराज यादव हुनुहुन्थ्यो । समापनमा मन्तव्य व्यक्त गर्दै प्रशिक्षकहरूले सिकेका कुरा व्यवहारमा उतार्न सके मात्र तालिमको सार्थकता रहने भन्दै सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा न्यायिक समितिमा आउने समस्याहरू , वादविवाद, मुद्दाहरू लगायतका विषयहरूमा कसरी छलफल गर्ने ?, मेलमिलापकर्ताको भूमिका, न्यायिक समिति, मेलमिलाप समितिको काम, कर्तव्य र अधिकारका विषयमा विषय विज्ञहरूले प्रशिक्षण दिनुभएका थियो । मेलमिलापका आधारभूत सिद्धान्त, महत्त्व, पारदर्शिता तथा गोपनीयताको बारेमा प्रस्ट पारिएको तालिममा फिराद लेखन, प्रहरी , प्रकाशन र अदालतको काम लगायत विषयमा जानकारी गराइएको थियो । समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर