Aamsanchar

शैक्षिक अवस्था सुधार्न मैवाखोलाकाे साझा सङ्कल्प

Author Image
आइतवार, जेठ २०, २०८१

ताप्लेजुङ-ताप्लेजुङको मैवाखोला गाउँपालिकाले शैक्षिक अवस्था सुधार्न साझा सङ्कल्प गरेको छ । सामुदायिक विद्यालयको खस्कँदै गएको शैक्षिक अवस्थालाई दृष्टिगत गरी बृहत् शैक्षिक सम्मेलनको आयोजना गर्दै गाउँपालिकाले हालको शैक्षिक अवस्थालाई सुधार्न साझा सङ्कल्प गरेको हो ।

मैवाखोला गाउँपालिकाले दुई दिने अर्थात् शुक्रबार र शनिबार बृहत् शैक्षिक सम्मेलन आयोजना गरेको छ । उक्त सम्मेलनमार्फत गुणस्तरीय शिक्षासहित शैक्षिक अवस्थालाई सुधार गर्ने साझा सङ्कल्प प्रस्ताव पारित गरिएको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो । अध्यक्ष वनेमका अनुसार सम्मेलनले १० बुँदे साझा सङ्कल्प र विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक सङ्घतर्फ १७ बुँदे संकल्पपत्र पारित गरेको छ । यस्तै बृहत् सम्मेलनले ४२ बुँदे मैवाखोला घोषणापत्रसमेत जारी गरेको गाउँपालिकाले जनाएको छ ।

मैवाखोलाका सामुदायिक विद्यालयहरू सुधार गर्ने साझा सङ्कल्प पत्रमा प्रधानाध्यापकहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र निर्वाचित जनप्रतिनिधिले हस्ताक्षर गर्नुभएको छ । साझा सङ्कल्पअनुसार शिक्षक, कर्मचारी र जनप्रतिनिधिले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने छ । कक्षा ९ देखिमाथि ‘पढ्दै कमाउँदै’जस्ता व्यवहारिक सिकाइका कार्यक्रम सञ्चालन गर्नेजस्ता सङ्कल्प गरिएको छ ।

यसैगरी विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घतर्फ गरिएको संकल्पपत्रमा विद्यालय सञ्चालनका लागि पर्याप्त स्रोत साधन परिचालन गर्ने, विद्यालयमा नभएका स्रोत तथा साधन जुटाउन पहल गर्ने रहेको छ । यस्तै विद्यालयमा दलगत राजनीति प्रवेश गर्न नदिने तथा धार्मिक र साम्प्रदायिक आधारमा विद्यालयमा विभेद हुन नदिने सङ्कल्प गरिएको छ ।

त्यस्तै विद्यालयको वातावरण सधैँ स्वच्छ राख्ने, विद्यार्थीलाई नियमित बनाउन अभिभावकसँग निरन्तर समन्वय गर्ने, विद्यालयलाई समुदायसँग जोड्ने र आवश्यक काममा प्रधानाध्यापकलाई सहयोग गर्ने सङ्कल्प गरिएका छन् । विद्यालयको समग्र गुणस्तर सुधार्न विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय सरकारसँग समन्वय गर्ने, गाउँपालिका शिक्षा ऐनमा भएको व्यवस्था र अधिकारको पालना गर्नेजस्ता सङ्कल्प गरिएको छ ।

यता घोषणा पत्रअन्तर्गत मैवाखोला गाउँपालिकामा शिक्षाको रूपान्तरण र विकासलाई प्राथमिकतामा राखी शिक्षामा नमुना पालिकाको रूपमा विकास गर्ने, विद्यालय बाहिर रहेका बालबालिकालाई अनिवार्य विद्यालयमा ल्याउन र टिकाउन विशेष पहल गर्ने रहेको छ । त्यस्तै गाउँपालिकामा सार्वजनिक शिक्षाको सुदृढीकरण र निरन्तर नवप्रवर्तनको पक्षमा जनमत निर्माण साथै सम्बन्धित पक्षसँग सहकार्य गर्ने, विद्यालयलाई शान्ति क्षेत्रका रूपमा विकास गर्नेलगायत रहेका छन् ।

बृहत् शैक्षिक सम्मेलनमा शिक्षा विज्ञका रूपमा अभिषेक घिमिरे, आरके ढुङ्गाना, विमल फुयाँललगायतले सहजीकरण गर्नुभएको थियो । पालिकाभित्र रहेका विद्यालयका समिति पदाधिकारी, प्रधानाध्यापक र शिक्षक, शिक्षक अभिभावक सङ्घका पदाधिकारी, शिक्षा शाखामा कार्यरत जनशक्ति लगायतको सहभागितामा सम्मेलन सम्पन्न गरिएको गाउँपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनले जानकारी दिनुभयो । बृहत् सम्मेलनले शैक्षिक अवस्था सुधारमा अपेक्षाकृत सहयोग पुग्ने विश्वास लिइएको गाउँपालिका उपाध्यक्ष कमलकुमारी लिम्बूले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 88

प्रतिक्रिया (०)