Aamsanchar

इलाममा पर्यटकीय गन्तव्यका लागि झोलुङ्गे पुल

Author Image
सोमवार, जेठ २१, २०८१

इलाम- इलाम नगरपालिका त्यसैपनि जिल्लाको पुरानो नगरपालिका हो । नेपाली चियाको १६० वर्षे इतिहास यही नगरपालिकामा छ । नेपालको सबैभन्दा पुरानो कृषि कारखाना अर्थात् चिया उद्योग वि।सं। १९३५ मा स्थापना भएको चिया कारखाना पनि इलाम नगरपालिकामै छ ।

अन्य विभिन्न पौराणिक, धार्मिक तथा पुरातात्त्विक ढङ्गले पनि निकै महत्त्व बोकेको इलाम नगरपालिकाले अहिले पर्यटक आकर्षणको निकै प्रयास गरिरहेको छ । पछिल्लो समय इलाम भित्रने पर्यटकलाई लक्षित गर्दै नगरपालिकाले इलाम नगरपालिका–६ र देउमाई नगरपालिका–६ जोड्ने गरी ३६६ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिरहेको छ ।

कूल दुई करोड आठ लाख १९ हजार १२० रुपियाँको लागतमा निर्माण सम्झौता भएका पुलको ९० प्रतिशत काम सक्किएको छ । इनपा-६ मा रहेको सेतीदेवी मन्दिर नजिकबाट निर्माण सुरु गरिएको पुलले अहिले निर्माणको अन्तिम चरणमा रहेको इनपा–६ का वडाध्यक्ष दुर्गा मदन श्रेष्ठले बताउनु भयो । ´यो पुलको सबै काम सक्किएको छ । अब पुलमा प्रवेश गर्ने दुवै तर्फ अर्थात् वारी पारिनै स्वल्याब हाल्ने काम बाँकी छ । त्यो पनि आज स्वल्याबको काम हुँदैछ,` वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, ´नगरपालिकाको यो गौरवको आयोजना हो । साँच्चै राम्रो र मनमोहक दृश्यावलोकनका लागि पुल निर्माण भएको सेतीदेवी क्षेत्र अहिले निकै राम्रो भएको छ ।`

धार्मिक हिसाबले पनि प्रसिद्ध सेतीदेवीमा दैनिक श्रद्धालु भक्तजनहरूको भिड लाग्ने गरेको छ । पुल निर्माण भएपछि सेतीदेवीको दर्शन गर्दै लामो दुरीको सुन्दर पुल हेर्नका लागि पनि इलाम सदरमुकाम आइपुग्ने पर्यटकहरू त्यहाँ सम्म पुग्न सक्ने अपेक्षा लिइएको श्रेष्ठ बताउनुहुन्छ ।

इलामको नवीन चोकबाट पश्चिम लागेपछि करिब दुई किलोमिटर दुरीमा रहेको यो क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने इलाम नगरपालिका प्रमुख केदार थापाले बताउनुभयो । नगरपालिकाले यो लामो झोलुङ्गे पुलबाट ‘बन्जी जम्प’ का लागि काम गर्ने लक्ष्य लिएको बताइएको छ । ´पुल निर्माण हुँदैगर्दा पनि निजी स्तरबाट तीन–चारवटा टोली बन्जी जम्पको अध्ययनका लागि आएका छन् । नगरपालिकाबाट ठोस निर्णय भइसकेको छैन,` थापाले भन्नुभयो, ´बन्जी जम्पको सम्भाव्यता अध्ययन गरेर अगाडि बढ्ने लक्ष्यमा छौँ।`

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)