Aamsanchar

साल र सल्लाका रुख काट्नेलाई ३७ हजार आठ सय ४० रुपैयाँ जरिबाना

Author Image
मङ्गलवार, जेठ २२, २०८१

खोटाङ – खोटाङमा सामुदायिक वनको साल र सल्लाका रुख काट्नेलाई जरिबाना गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको देउले सामुदायिक वनबाट सालको ३७ वटा र सल्लाको दुई वटा रुख कटान गर्ने आठ जना स्थानीयवासी योगेश राई, राजकुमार राई, धनकुमार राई, अनिस राई, बौधराम राई, बबिन्द्र राई, दइन्द्र भुजेल र टेम्माका जीवन राईलाई जरिबाना गरिएको हो ।

उनीहरूलाई ३७ हजार आठ सय ४० रुपैयाँ जरिबाना गरेको देउले सामुदायिक वन उपभोक्ता समितिले जनाएको छ । कल्चुडे आवादीदेखि दक्षिणतर्फको वनबाट अनुमति नलिई सालको ६३ दशमलव ५३ क्युबिक फिट र सल्लाको २० दशमलव २५ क्युबिक फिट काठ कटान गरेको पाइएको छ ।

समूहको विधानअनुसार जरिबाना गरिएको देउले सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सन्तोष घिमिरेले बताउनुभयो । सामुदायिक वनबाट साल कटान भएको जानकारी आएपछि डिभिजन वन कार्यालयका अधिकृत छैटौँ दीपेन्द्र मेहता र जनरल फरेस्ट्री विनोद गजमेरको टोली गएको जेठ १७ गते नापजाँच गरी सर्जमिन मुचुल्का तयार पारेर फर्किएको थियो ।

कल्चुडेमा भैँसी पालनका लागि गोठ बनाउने क्रममा उनीहरूले अनुमतिबिना सामुदायिक वनको साल र सल्ला ढालेका हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राईले सय वटा राँगारभैँसी उपलब्ध गराउने आश्वासन दिएपछि गोठ बनाउन शुरु गरेको उनीहरूको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 32

प्रतिक्रिया (०)