![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/06/InShot_20240604_134717724.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
भोजपुर-जिल्लाको टेम्केमैयुङ गाउँपालिकाको तिम्मादेखि साल्पासिलिछो गाउँपालिकाको दोभानेसम्ममा देखापर्दै आएको दुर्लभ रेड पाण्डा संरक्षणमा चुनौती थपिँदै गएपछि रेड पाण्डा नेटवर्कको सहयोगमा सामूहिक अभियान भोजपुरले जिल्ला स्तरीय अन्तर्क्रिया सञ्चालन गरेको छ । पछिल्लो समय रेड पाण्डाको वासस्थान विनाश, वन जङ्गलमा भएको आगलागी, पूर्वाधार विकासमा प्रयोग गरिने विभिन्न खाले मेसिनको प्रयोगले वासस्थान खण्डीकरण, चोरी सिकार, उनीहरूको खाद्यान्न मालिङ्गो÷निगालोको कटानी तथा विनाश, संरक्षणसम्बन्धी समुदायमा सचेतनाको अभावका कारण रेड पाण्डा हराउँदै गएको छ । विश्वको सुन्दर र लजालु स्तनधारी वन्यजन्तु रेड पाण्डा९हाब्रे०संरक्षण कै अभावमा लोप हुने अवस्थाको उच्च जोखिममा रहेको छ । विश्वभर दुर्लभ रहेको वन्यजन्तु रेड पाण्डा मासु, छाला, आखेटोपहारका लागी चोरी सिकार भएसँगै यो जनावर लोप हुदै गएको हो ।
रेड पाण्डाको अध्ययनका लागी जिल्लामा ट्याम्के सामुदायिक वन, नयाँ खर्क सामुदायीक वन, साल्पासिलिचुङ सामुदायीक वन र साल्पाथुलिम्पा सामुदायीक वन तोकिएको छ भने उक्त सामुदायिक वनहरूमा रेड पाण्डाको वासस्थान रहेको छ । उल्लेखित सामुदायिक वनहरूमा रेड पाण्डा खोज अन्वेषण तथा संरक्षणका लागि सामूहिक अभियानमार्फत २÷२ जना वन अभिभावकहरू राख्ने र उनीहरूले वर्षको ४ पटक वन क्षेत्रमा अनुगमन गर्ने , प्रत्येक सामुदयिक वनमा रहेको एन्टी पोचिङ युनिटले चोरी, सिकारसम्बन्धी गस्ती गर्दै आएका छन् । रेड पाण्डा संरक्षणका लागी उक्त क्षेत्रको बेसलाइन सर्वे, अनुगमन, निरीक्षण संरक्षण, वासस्थानको व्यवस्थापन र समुदायमा जीविकोपार्जनसम्बन्धी तालिम, विद्यालय तथा समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम गर्दै आएको सामूहिक अभियान भोजपुरकी कार्यक्रम अधिकृत अनन्ता राईले जानकारी दिनुभयो ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
दुर्लभ र सङ्कटापन्न, संरक्षित जीव, नेपालको पहिचान बनाउनका साथै रेड पाण्डाको संरक्षणमार्फत पर्यटनको विकास गरी स्थानीय बासिन्दाको जीविकोपार्जनमा आफूहरूले निरन्तर कार्य गर्दै आएको सामूहिक अभियान भोजपुरका अध्यक्ष गणेश श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार,“रेड पाण्डा नेटवर्क सँगको सहकार्यमा जिल्लामा रेड पाण्डा संरक्षणका लागि वार्षिक विभिन्न कार्यक्रम सञ्चालित छन्, त्यस क्रममा आगामी दिनमा रेड पाण्डा चरन क्षेत्रमा पोखरी निर्माण,स्थानीयसँगको सहकार्यसँगै क्यामरा ट्रयापिङमार्फत खोज अन्वेषण हुनेछ ।”
रेड पाण्डा भएका क्षेत्रको पहिचान भएका स्थानीय तह तथा सरोकारवालासँग सहकार्य गरी संरक्षणमा थप सहयोग पुग्ने जिल्ला समन्वय समिति प्रमुख कमल थुलुङले बताउनुभयो । उहाँले भन्नुभयो, “रेड पाण्डा भएको क्षेत्रको सूचना दिने व्यक्तिलाई पुरस्कृत गर्न सकिन्छ, यसको महत्त्व तथा फाइदाका बारेमा स्थानीयहरूलाई सचेत गर्न सकिन्छ, मुन्धुम ट्रेलसँग जोडेर पर्यटन प्रवर्द्धन गर्न सकिन्छ ।” पर्यटकीय क्षेत्रको रुपमा जिल्लामा पान्धारे–चखेवा–हासँपोखरी हुँदै साल्पासिलिछो पोखरी–चुचुरोसम्म करिब १ सय किलोमिटर लामो मुन्धुम ट्रेल छ । कोशी प्रदेशको सय गन्तव्यमा रहेको मुन्धुम ट्रेलमा चीन, जापान, फ्रान्स, अमेरिका, भारत लगायतका वार्षिक लाखौँ पर्यटक पदमार्गका लागि आउने गर्दछन्।
रेड पाण्डा तथा संरक्षित जनावर चोरी सिकार, खरिद बिक्री तथा ओसारपसार गर्नेलाई पाँच लाख रुपियाँदेखि दश लाख रुपियाँसम्म जरिवाना वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको डिभिजन वन कार्यालय भोजपुरका प्रमुख वीरेन्द्र शाहले जानकारी दिनुभयो ।
निकै लजालु र प्रमुख आहारा भनेको भालुचिण्डे, ठेकिफल, मालिङ्गो, निगालो भएकोले अनियन्त्रित चरिचरन, आगलागी, फँडानीले पनि रेड पाण्डा लोप हुदै गएको हो । दुर्लभ र सङ्कटापन्न, संरक्षित जीव, नेपालको पहिचान बनाउनका साथै रेड पाण्डाको संरक्षणमार्फत पर्यटनको विकास गरी स्थानीय बासिन्दाको जीविकोपार्जन वर्तमान आवश्यकता रहेको अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले बताउनुभयो ।
जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङको अध्यक्षामा भएको रेड पाण्डा संरक्षण जिल्लास्तरीय सल्लाहकार समितिको अन्तर्क्रिया कार्यक्रममा सामूहिक अभियान संस्थाका अध्यक्ष गणेश श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी, वडाध्यक्ष, फेकोफनका अध्यक्ष, उद्योग वाणिज्य सङ्घका अध्यक्ष, जिल्लास्थित सरकारी एवं गैर सरकारी कार्यालयका प्रमुखहरू, क्रियाशील पत्रकारलगायत सरोकारवालाको उपस्थिति थियो ।