Aamsanchar

मोदीको शपथग्रहणमा प्रधानमन्त्री दाहाल सहभागी हुने

Author Image
बिहिवार, जेठ २४, २०८१

काठमाडौं – आगामी शनिबार हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जाने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जुन ८ (शनिबार) मा तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिने तयारी गरेपछि उनी भारत जाने भएका हुन्।

बुधबार बेलुका प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीलाई टेलिफोन गरेका थिए। उक्त टेलिफोन संवादमा उनीहरुबीच आगामी दिनमा नेपाल-भारत सम्बन्धलाई थप मजबुत पारेर अगाडि बढ्ने विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ। सोहि संवादमा भारतीय प्रधानमन्त्री मोदीले प्रचण्डलाई आफ्नो सपथ ग्रहण समारोहमा भाग लिन निम्तो दिएका थिए। मोदीको औपचारिक निम्तो पाएपछि प्रधानमन्त्री प्रचण्डले भारत जाने तयारी थालेका हुन्।

स्रोतका अनुसार शुक्रबार साँझ वा शनिबार बिहानै प्रचण्ड नयाँ दिल्ली जानेछन्। प्रधानमन्त्री कार्यालयका अनुसार आज बस्ने मन्त्रिपरिषद्को बैठकले मोदीको निमन्त्रणालाई स्वीकार गरेर प्रधानमन्त्रीको भ्रमणबारे निर्णय गर्नेछ।

प्रधानमन्त्री मोदीको दिल्लीस्थित निवासमा बुधबार भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए)को बसेको बैठकमा मोदीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने विषयमा छलफल भएको थियो। बैठकमा जनता दल (युनाइटेड)प्रमुख नितिश कुमार र तेलुगु देशम पार्टी (टीडीपी)प्रमुख एन चन्द्रबाबु नायडूको सहभागितालाई महत्त्वपूर्ण कदम मानिएको छ। भाजपालाई सरकार बनाउनका लागि उनीहरूको दलको समर्थन महत्त्वपूर्ण छ।

भारतको निर्वाचन आयोगले मङ्गलबार सार्वजनिक गरेको नतिजाअनुसार भाजपाले दुई सय ४० सिट र काङ्ग्रेसले ९९ सिट जितेका छन्। भाजपाले सन् २०१९ को आम चुनावमा तीन सय तीन र सन् २०१४ को आम चुनावमा दुई सय ८२ सिट जितेको थियो।

यसअघि प्रधानमन्त्री मोदीले आफ्नो मन्त्रिपरिषद्सहितको राजीनामा राष्ट्रपति मुर्मूलाई बुझाएका थिए। राष्ट्रपतिले राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठन नभएसम्म प्रधानमन्त्री र उनको मन्त्रिपरिषद्लाई निरन्तरता दिन आग्रह गरेकी छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 61

प्रतिक्रिया (०)

सम्बन्धित खबर