Aamsanchar

मोरङका उद्योगीद्वारा खाद्य स्वच्छता तथा गुणस्तरमा जोड

Author Image
शुक्रवार, जेठ २५, २०८१

विराटनगर – उद्योग संगठन मोरङ र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको आयोजनाम खाद्य स्वच्छतासम्बन्धी अन्तर्क्रिया सम्पन्न भएको छ ।

´खाद्य स्वच्छतामा लगानी बढाऔँ, अप्रत्याशित अवस्थाको पूर्वतयारी गरौँ` भन्ने ध्येयका साथ बिहीबार विराटनगरमा कार्यक्रम आयोजना भएको हो । खाद्य उद्योगी व्यवसायीहरूको सहभागितामा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ का सम्बन्धमा अन्तर्क्रिया भएको थियो ।त्यस अवसरमा संगठनका अध्यक्ष राकेश सुरानाले मानव स्वास्थ्य तथा सुरक्षासँग प्रत्यक्ष सम्बन्ध राख्ने खाद्य पदार्थको गुणस्तर कायम राख्नु महत्त्वपूर्ण भएको बताए ।

उनले भने, “वस्तु उत्पादनको क्रममा व्यवसायीले खाद्य स्वच्छता व्यवस्थापन प्रणाली अन्तर्गत असल उत्पादन अभ्यास, सरसफाइजस्ता कुरालाई प्राथमिकता दिएर प्याकेजिङ र लेवलिङ गर्दा ध्यान दिनुपर्छ ।” खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख विजय खनालले ०८१ वैशाख २३ गते राजपत्रमा प्रकाशित भइसकेको खाद्य स्वच्छता तथा गुणस्तर ऐन ९० दिनपछि कार्यान्वयनमा आउने जानकारी गराए । उनले ऐनले निर्दिष्ट गरेका व्यवस्थाहरूलाई कार्यान्वयनमा ल्याउन उद्योगहरूलाई अनुरोध गर्दै उत्पादक, प्रशोधनकर्ता, प्याकेजिङकर्ताको दायित्व र अनुगमन, निरीक्षण, कारबाहीलगायत ऐनमा समेटिएका अन्य प्रावधानहरूबारे स्पष्ट पारे ।

सहभागीले वस्तु उत्पादनको क्रममा मानव संशाधन, मेसिनको प्रयोग हुने भएकाले भुलवश र जानीजानी गरिने त्रुटिलाई एकै प्रकारको कसुरको रूपमा परिभाषित गरी दण्ड वा जरिवाना तोक्न नहुने धारणा राखे ।

कार्यक्रममा संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, उपाध्यक्ष विपिन कावरा, कार्यसमिति सदस्य जयेन्द्र शर्मा, सन्तोष भगत, वीरेन्द्र राठी, सिद्धार्थ कावरा, दिपक अग्रवाललगायत सहभागी थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 38

प्रतिक्रिया (०)

सम्बन्धित खबर