

धादिङ –धादिङ जिल्लाको गजुरी गाउँपालिका–५ घाटबेशीबाट हराएका दुई बालकमध्ये एक जनाको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारेको छ ।

शनिबार दिउँसो करिब ४ बजेदेखि हराएका अन्दाजी १५ वर्षीय युनिक सुबेदी र १३ वर्षीय रिदम रोइलाले लगाएको कपडा त्रिशूली नदिको किनारमा भेटिएपछि उनीहरूको खोजी कार्य सुरु गरिएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोलीले खोजी कार्य गर्दा आइतबाट दिउँसो १३ः२० बजे उनीहरूले लगाएको कपडा भेटिएभन्दा करिब १५ मिटर माथि त्रिशूली नदिको झन्डै २० फिट गहिराइमा युनिकको शव फेला पारेको थियो । अर्का रिदम रोइलाको भने खोजी कार्य जारी छ ।

यसअघि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस आदमघाटबाट खटिएको टोलीले उनीहरूको खोजी कार्य गर्दा फेला नपरेपछि तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली परिचालित भएको थियो ।