Aamsanchar

इलामको तीनघरेमा आदिवासी जनजाति सांस्कृतिक तथा खाना महोत्सव सुरु

Author Image
आइतवार, जेठ २७, २०८१

इलाम-इलामको तीनघरेमा आदिवासी जनजाति सांस्कृतिक तथा खाना महोत्सव सुरु भएको छ । विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शनीसँगै सूर्योदय नगरपालिका–११ को तीनघरेमा दुई दिने आदिवासी जनजाति सांस्कृतिक तथा खाना महोत्सव आजदेखि सुरु भएको हो ।

कोशी प्रदेशमार्फत सशर्त अनुदानतर्फ सूर्योदय नगरपालिकाले प्राप्त गरेको आठ लाख रुपियाँ लगानीमा नेपाल आदिवासी जनजाति महासङ्घ सूर्योदय नगर समन्वय परिषद् र सूर्योदय महिला मञ्च फिक्कलको आयोजनामा सुरु भएको महोत्सवमा रैथाने खानाका परिकार राखिएको छ ।

महोत्सवमा राई, लिम्बु, मगर, नेवार, तामाङ र लोपोन्मुख लाप्चा जातिका रैथाने खानाका परिकारका स्टल राखिएको छ । दुई दिनसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन हुने आयोजक नेपाल आदिवासी जनजाति महासङ्घ सूर्योदय नगर समन्वय परिषद्का अध्यक्ष सोनाम यल्मोले जानकारी दिनुभयो ।

 

अध्यक्ष यल्मोले भन्नुभयो, ‘आदिवासी जनजातिको कला, संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन, प्रवर्धन र पुस्तान्तरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।’ महोत्सवको उद्घाटन गर्दै जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईले विभिन्न जातजातिको रहनसहन, भाषा संस्कृति संरक्षण गर्न महोत्सवले सहयोग पुग्ने बताउनुभयो ।

सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले नगरपालिकाले विभिन्न जातजातिको संस्कार संस्कृतिलाई पर्यटनमा जोड्न नगरले आर्थिक स्रोतको व्यवस्थापन गर्दैआएको जानकारी दिनुभयो । उहाँले यस प्रकारका महोत्सवमा संस्कार, संस्कृतिसँगै स्थानीय खानाका परिकारले पर्यटकलाई आकर्षण गर्ने बताउनुभयो ।

महोत्सवमा स्थानीय वाचिपा, कोदोक, फापरको रोटी, ढिँडो, गुन्द्रुक, तरुलजस्ता परिकार राखिएको छ । महोत्सवमा विभिन्न जातजातिले लोप हुँदैगएका बस्तुको समेत प्रदर्शन गरेका छन् ।

महोत्सवमा किरात राई यायोख्खा, किरात याक्थुङ चुम्लुङ, सुनुवार सेवा समाज, नेपाल तामाङ घेदुङ, नेपाल योल्मो समाज सेवा सङ्घ, नेपाल शेर्पा समाज, नेपाल मगर सङ्घ, लाप्चा उत्थान मञ्च, नेवास् दय दबूँ, नेपाल थामी समाज, तमु ह्युल छोँज दी, भुजेल सेवा समिति, किरात याम्फू समाज, किरात मेवाहाङ याखोम्मा लगायतको सहभागिता छ ।

 

आयोजक सूर्योदय महिला मञ्चका सचिव साधना फागोले नयाँ र पुराना पुस्ता मिलेर आदिवासी जनजातिको पुर्ख्यौली कला, संस्कृति र परम्पराको संरक्षण गर्दै पुस्तान्तरण गर्न महोत्सवले सहयोग पुग्ने बताउनुभयो । ‘कला, संस्कृति र परम्परा आदिवासी जनजातिको मुख्य पहिचान हो, यसलाई पुस्तान्तरण गर्दै जानुपर्छ’ मञ्चका सचिव फागोले भन्नुभयो ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् इलामका अध्यक्ष चक्र एक्तेनले आदिवासी जनजातिका संस्कार संस्कृति संरक्षण गर्न तीनै तहका सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । महोत्सवमा १५ हजार बढीले अवलोकन गर्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 37

प्रतिक्रिया (०)

सम्बन्धित खबर