Aamsanchar

मोरङमा भेटियाे अमेजन नदीमा पाइने माछाको प्रजाति

Author Image
मङ्गलवार, जेठ २९, २०८१

मोरङ – मोरङको बेलबारी र धनपालथानमा अमेजन नदीमा पाइने माछाको एक प्रजाति फेला परेको छ । दक्षिण अमेरिकाको अमेजन नदीमा पाइने ‘टेरिगोप्लिक्थिस डिसजन्किटिभस’ वैज्ञानिक नाम रहेको माछा नेपालमा पहिलो पटक बेलबारी नदीमा चार वर्षअघि देखिएको थियो ।

नयाँ प्रजातिको माछा हुनसक्ने शङ्का लागेर स्थानीय अनुसन्धानकर्ता जसहाङ लिम्बू, दीपक राजवंशी, अस्मित सुब्बा र लक्ष्मण खनालले यसलाई पछ्याउनु भएको थियो । पछि दुई चिनियाँ अनुसन्धानकर्ता जिनक्वान याङ र चेनहोङ लिको सहयोगमा यो अतिमिचाहा स्वभाव भएको र नेपालका लागि नयाँ प्रजाति रहेको पुष्टि भएको हो ।

यो माछाको बासस्थान, शारीरिक र आनुवंशिक बनोट तथा आनीबानी र नेपालमा पहिलो पटक भेटिएको भन्ने पुष्टिसहित अनुुसन्धानकर्ताले लेखेको लेख ‘बायोइन्भेजन्स् रेकर्डस्’ विज्ञान पत्रिकामा हालै छापिएको छ । लोहन्द्रा खोलाबाट यो नयाँ प्रजातिको माछाका ४३ वटा नमूना सङ्कलन गरिएका थिए ।

हेर्दा आकर्षक लाग्ने, दुई सयदेखि तीन सय ग्राम तौलसम्मका नमूना सङ्कलित भएका थिए । पूर्वी नेपालका तमोरलगायत नदीका ५० ठाउँमा अध्ययन गरिएकोमा लोहन्द्राका दुई ठाउँमा यो प्रजाति र त्यही जातको अर्को प्रजाति दमक क्षेत्रको खोलामा भेटिएको उल्लेख छ ।

अनुसन्धानकर्तामध्येका एक जसहाङ लिम्बूले कसैको एक्यारियमबाट फुत्केर प्राकृतिक नदीमा पुगेको या भारतबाट नदीमा खेल्दै आएको हुनसक्ने बताउनुभयो ।

जताबाट आए पनि यो नेपाल भित्रिएपछि यहाँका रैथाने माछालाई हेप्ने, खानेकुरा खाइदिने, फूल र भुरा खाइदिने गरेको पाइएको छ । यसैका कारण हाम्रा स्थानीय माछाहरु नास हुन सक्ने अनुसन्धानकर्मीको चिन्ता छ । उनीहरुले मिचाहा स्वभाव भएको माछालाई तत्कालै नियन्त्रण गर्न पनि सुझाव दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर