

मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागमतीका निलम्बित मेयर थापा, उपमेयर लीलाकुमारी मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

बागमती नगरपालिका-४ र १२ नम्बर वडामा रहेको भरत ताल निर्माण गर्दा उत्खनन गरिएको ढुंगा, गिटी, बालुवालगायत नदीजन् पदार्थमा अनियमितता गरेको, सागरनाथ वन विकास परियोजनाअन्तर्गतको वन क्षेत्रमा सागरनाथ वन विकास परियोजना र संघीय सरकारको स्वीकृत बिना अनाधिकृत रूपमा माछा पोखरी निर्माण भएको भेटिएकाले भ्रष्टाचारको मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

ताल निर्माणका क्रममा उत्खनन् गरिएका नदीजन्य पदार्थ बिक्री गर्दा सरकारी सम्पत्तिमा हानि नोक्सानी पुर्याएको अख्तियारको निष्कर्ष छ । अनियमिततामा संलग्न गरेको अभियोगमा अख्तियारले योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल, लेखा अधिकृत विश्वराज पोखरेल र समन्वय समितिका तत्कालीन प्रमुख मेथुर चौधरीविरूद्ध पनि मुद्दा दायर गरेको छ ।

अख्तियारले मेयर थापा र उपमेयर मोक्तानसहित ६ जनाले ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ हानिनोक्सानी पुर्याएको दाबी गरेको छ । अख्तियारले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद सजाय र जरिवाना माग गरेको प्रवक्ता घिमिरेले बताए ।