Aamsanchar

ताप्लेजुङमा मोटरेवल र झोलुङ्गे गरी १९ वटा पुल बन्ने

Author Image
मङ्गलवार, जेठ २९, २०८१

ताप्लेजुङ- ताप्लेजुङमा मोटरेवल र झोलुङ्गे गरी १९ वटा पुल बन्ने भएको छ । सङ्घीय सरकारको योजनाअन्तर्गत आगामी आर्थिक वर्षमा छ वटा मोटरेवल र १३ वटा झोलुङ्गे गरी १९ वटा पुल बन्ने भएको हो ।

जिल्लाको मैवाखोला गाउँपालिकामा मात्र तीन वटा मोटरेवल (मोटर गुड्ने)पुल बन्ने भएको छ । गाउँपालिकाभित्र पर्ने लोदम्बा खोला, माङ्माया खोला र याङ्देली खोलामा मोटरेल बन्ने भएको हो । यस्तै मेरिङ्देन गाउँपालिकाको लङ्वा खोला, आठराई त्रिवेणीको सोबुवाखोला र पाथीभरा याङ्वरक गाउँपालिकाको फावाखोलामा मोटरेवल पुल बन्ने भएको हो।

यसैगरी यहाँका विभिन्न स्थानीय तहमा १३ वटा झोलुङ्गे पुल निर्माण हुनेगरी योजना परेको छ । जिल्लाको सिरिजङ्घा गाउँपालिकाअन्तर्गत काबेली खोलामा दुई वटा र खोयाखोलामा एउटा झोलुङ्गे पुल बन्ने भएको छ । सिदिङ्वा गाउँपालिकाअन्तर्गत इँवाखोला, तावा खोला र खोरिम्बा खोलामा झोलुङ्गे पुलको योजना परेको छ ।

पाथीभरा याङ्वरक गाउँपालिकाको सेरुपा, मैवा खोला गाउँपालिको माङ्माया र मेरिङ्देनको मुलिङ खोलामा झोलुङ्गे पुल बन्ने भएको हो । मिक्वाखोला गाउँपालिकामा थुम्मा खोला, हाँडीखोला तथा पापुङ र साँवा जोड्ने मेवाखोलामा झोलुङ्गे पुल बन्ने भएको छ । त्यसैगरी फक्ताङ्लुङ गाउँपालिकाको मेनथुक्मा खोला, मेदेम्बा खोला र तावा खोलामा झोलुङ्गे पुल बन्ने छ ।

आठराई त्रिवेणी गाउँपालिका अन्तर्गत फुगुवा खोलामा निघुरादिन र तेह्रथुमको ह्वाकु जोड्न झोलुङ्गे पुल बन्ने भएको हो । गत वर्षको बर्खा याममा गएको बाढी र पहिरोले मोटरेवल साथै झोलुङ्गे पुललाई क्षतिग्रस्त बनाएको र उक्त ठाउँमा नयाँ पुल निर्माण गर्नेगरी योजनाहरू स्वीकृत भएका बताइएको छ । उक्त पुलहरू निर्माणका लागि चार करोड ८१ लाख रुपियाँ बढी बजेट विनियोजन भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 21

प्रतिक्रिया (०)

सम्बन्धित खबर