Aamsanchar

दाङमा सम्वर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापनबारे  छलफल 

Author Image
बुधवार, जेठ ३०, २०८१

दाङ । डिभिजन वन कार्यालय घोराही दाङले आज बुधवार जिल्लामा थालिएको सम्वर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापनबारे सरोकारवालाबीच छलफल गरेको छ । कार्यक्रममा वन सम्वर्द्धन प्रणालीबारे जानकारी, यसको महत्व, डिभिजन वन कार्यालय घोराहीबाट सम्वर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यको प्रगति, अवसर, समस्या र चुनौतीबारे जानकारी तथा सरोकारवालाहरूको सुझाव संकलन गरिएको छ ।

डिभिजन वन कार्यालय घोराही दाङका सिनियर डिभिजनल वन अधिकृत मोहनप्रसाद श्रेष्ठको सभापतित्व एवं सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष हरिप्रसाद भुसालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सामुदायिक वन कार्यालय उपभोक्ता समूहका पदाधिकारी तथा प्रतिनिधि, वनकर्मी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा डिभिजन वन कार्यालय घोराही दाङका सिनियर डिभिजनल वन अधिकृत मोहनप्रसाद श्रेष्ठले आफ्नो कार्यालयको कार्यक्षेत्र रहेको बबई गाउँपालिकाका १५, शान्तिनगर गाउँपालिकाका ६ वटा र बङ्गलाचुली गाउँपालिकाकाको एउटा वन समूहमा कार्ययोजना बनाइएकोमा त्यस मध्ये १९ वटा वन समूहमा काम थालिएको जानकारी दिनुभयो । जसबाट यस वर्ष करिव १ लाख ५५ हजार क्यु फिट काठ र ४ सय चट्टा दाउरा संकलन हुने आकलन गरिएको बताउनुभयो । सम्वर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन उपभोक्ता सहित सबै पक्षको सहयोगबाट अघि बढाइएको र यसबाट वन क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्य योजना बनाई बूढा उमेर पुगेका रूख काट्ने, काटिएको स्थानमा बिरुवा रोप्ने, रोपिएको वा पुनउत्पादन भएको बिरुवाको संरक्षण गर्ने र हर्काउने र दिगो रुपमा वन क्षेत्रको संरक्षण र विकास गर्ने गरी काम थालिएको सिनियर डिभिजनल वन अधिकृत श्रेष्ठको भनाई छ ।

कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष हरिप्रसाद भुसालले उपभोक्ताहरूको सहभागितामा थालिएको यो प्रणालीबाट वनको हैसियत सुध्रने र उपभोक्ताहरूको आर्थिक अवस्थामा सुधार आउने विश्वास व्यक्त गर्नुभयो । वैज्ञानिक वन सञ्जालका फर्सुराम भुसालले सबै पक्षको समन्वयमा जिल्लामा वन पैदावारको आपूर्तिमा सहज ल्याउने गरी काम थाल्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वन सम्वर्द्धन प्रणालीको अवधारणा बारे डिभिजन वन कार्यालय घोराही दाङका सिनियर डिभिजनल वन अधिकृत मोहनप्रसाद श्रेष्ठले, यो प्रणालीका राष्ट्रिय र अन्तर्राष्ट्रिय अवधारणा र अभ्यास र अपनाई विधि र तरिका बारेमा मदन सापकोटाले, कार्यालयले थालेको सम्वर्द्धन प्रणालीबारे सिकाइ अनुभवका बारेमा प्रकाश ढकालले र यस नयाँ अवधारणा र समसामयिक सवालका बारेमा मोतिराम पौडेलले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण साहयक वन अधिकृत टेकन आचार्यले गर्नु भएको थियो ।

कार्यक्रममा सहभागीहरूले जिल्लामा थालिएको सम्वर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापनबारे आ आफ्नो सुझाव र अनुभव बारे जानकारी गराएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर