Aamsanchar

जुनकिरी घट्दै जाँदा शङ्खेकिराको सङ्ख्या बढ्याे, किसानलाई घाटा

Author Image
आइतवार, असार १६, २०८१


साँझ उज्यालो छर्दै उड्ने जुनकिरी र भरभर गर्दै उड्ने गाइनेकिरा गाउँघरका खेतबारीमा अचेल कमै देखिन्छन् । यसको मार किसानलाई परेको छ ।

पर्यावरणीय चक्र अनुसार जुनकिरीको सङ्ख्या घट्दै जाँदा उसको मुख्य आहारा मानिने शङ्खेकिराको सङ्ख्या बढेर खाद्यान्न तथा तरकारी बालीमा क्षति हुन थाल्छ । धेरै मानिसलाई अचम्म पनि लाग्न सक्छ, त्यत्रो आकारको शङ्खेकिरा त्यति सानो जुनकिरीको भोजन कसरी बन्छ होला ?

विज्ञहरूका अनुसार जुनकिरीको लार्भाले शङ्खेकिरा खाने गर्दछ । लार्भा भनेको किराको प्रारम्भिक र खन्चुवा अवस्था हो । त्यही अवस्थामा जुनकिरीले शङ्खेकिराको लार्भालाई नष्ट पार्ने गर्दछ । लार्भा अवस्थामा जुनकिरी र शङ्खेकिराको वासस्थान एउटै हुन्छ ।

प्राकृतिक आवासको नाश, कीटनाशकको बढ्दो प्रयोग र कृत्रिम प्रकाशले जुनकिरीको सङ्ख्या कम हुँदै गएको छ । प्राकृतिक आवास नासिनु जुनकिरीको सङ्ख्यामा कमी आउने प्रमुख कारण हो । सिमसार र ओसिलो तथा झारपात भएको क्षेत्र जुनकिरीको प्राकृतिक वासस्थान मानिन्छ । बढ्दो शहरीकरण, साँझ बिहानको धेरै प्रकाश, वन तथा बुट्यान क्षेत्र विनाश जस्ता कारणले जुनकिरी लोप हुँदै जान थालेको छ ।

कृषि अनुसन्धान परिषद् (नार्क) का वरिष्ठ किट विशेषज्ञ आरपी मैनाली जुनकिरीको पिलपिले बत्तीको उज्यालो मात्र होइन कृषि बालीमा त्यसको त्योभन्दा धेरै उपयोगिता रहेको बताउँछन् । जुनकिरीको सङ्ख्या घटेसँगै बालीनालीमा शङ्खेकिराको प्रकोप बढ्ने भनाइ उनको छ ।

उनको भनाइ के छ भने आफ्नो लार्भा अवस्थामा जुनकिरीले शङ्खेकिराको लार्भा खाने गर्छ । यो उसको मुख्य आहारा हो । यस कारण जुनकिरीको सङ्ख्या घट्दा शङ्खेकिराको सङ्ख्या बढ्छ । उनी भन्छन्, “यो भनेको जङ्गलमा बाघको सङ्ख्या घट्दा मृग र खरायोको सङ्ख्या बढे जस्तै हो ।”

जुनकिरी चिसो र दलदले जमिनमा बस्ने गर्छ । बढ्दो शहरीकरण र जङ्गल नाश हुन थालेपछि जुनकिरीको वासस्थान खुम्चन थालेको छ । जसका कारणले जुनकिरीको सङ्ख्या क्रमिक रूपमा घटिरहेको छ ।

जुनकिरीले प्राकृतिक प्रकाश र रातको समयमा आफ्नो शरीरबाट निस्कने उज्यालोमा समागम गर्दछ । शरीरमा हुने रासायनिक प्रतिक्रियाले जुनकिरीले शरीरमा बत्ती बाल्छ । यसैको सहयोगबाट जुनकिरीले आफ्नो जोडीलाई आकर्षित गर्दछ । तेज कृत्रिम प्रकाशको असरबाट जुनकिरीले समागम गर्न सक्दैन ।

जुनकिरी मात्रै होइन नेपालमा धेरै किराको सङ्ख्या घटिरहेको छ । किसानको सबैभन्दा नजिकको साथी माहुरीको सङ्ख्यामा कमी आउँदा विभिन्न बालीको परागसेचनमा समस्या देखिएको छ । त्यसले कृषकको खाद्यान्न बाली मात्रै नभएर कतिपय जङ्गली फल नै लोप हुने अवस्थामा पुगेका छन्, फूलको सङ्ख्या नै कम भएर गएको छ ।

सरकारी निकायबाट नेपालमा किराका प्रजातिका बारेमा खोजी गरिएको छैन । सरकारी र गैरसरकारी निकायसँग किराको औपचारिक तथ्याङ्क नभए पनि एक दशकमा किरासम्बन्धी खोजीका क्रममा नेपालबाट २५ प्रतिशत किरा हराएको विज्ञको दाबी छ ।

पर्यावरण संरक्षण गर्नका लागि र खानेकुरा उत्पादन गर्न किराफट्याङ्ग्राको महत्वपूर्ण भूमिका रहने भएकाले यसको खोजी र अनुसन्धान आवश्यक छ ।

कृषि वैज्ञानिक रेशमबहादुर थापाका अनुसार संसारका ४० प्रतिशत किराको सङ्ख्या नाटकीय रूपमा घटिरहेको छ । मानिसको जीवनसँग किराको ठूलो सम्बन्ध रहने भएकाले किराको संरक्षणमा विश्व समुदाय नै एक हुन आवश्यक रहेको भनाइ थापाको छ ।

कृषि क्षेत्रका अनुसन्धानकर्ता कृष्ण धिताल जानकारी दिन्छन्, “जनावर, चरा र माछाको करिब ६० प्रतिशत आहारा किरा नै हुन्छ । किरा नभए चरा, चमेरा, भ्यागुता र माछा पनि हराउने भएकाले त्यसमा विशेष ध्यान पुर्याउन ढिला गर्न हुँदैन ।”

पर्यावरण जोगाउन गाइनेकिराको निकै महत्व रहेको छ । गाइनेकिराको सङ्ख्या घट्दा पतेरो, गवारो र लाइको उल्लेख्य वृद्धि भई मुख्य बाली धान, मकै र गहुँको उत्पादनमा कमी आउन थालेपछि किसानले ठूलो नोक्सानी बेहोररिहेका छन् ।

धितालका अनुसार गाइनेकिराको सङ्ख्या घट्दा त्यसको मुख्य आहार मानिएका बालीलाई हानिकारक किराको सङ्ख्या निरन्तर वृद्धि भएको छ । पतेरोले मात्रै धान उत्पादनमा १० प्रतिशतसम्म ह्रास ल्याउने गर्छ । नेपालमा हाल ५६ लाख मेट्रिक टन धान उत्पादन हुने र गाइनेकिरा जस्ता मित्रजीवको सङ्ख्यामा कमी आउँदा त्यसले १० प्रतिशतसम्म धान उत्पादन घटाइरहेको छ ।

गाइनेकिराबारे त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरिरहेका मनोज शर्माको भनाइमा पानीका स्रोत र मुहान प्रदूषित हुँदा गाइनेकिराको अस्तित्व सङ्कटमा परेको छ । सफा पानी भएको क्षेत्र गाइनेकिराको वासस्थान भएकाले यस किराको सङ्ख्यामा कमी आउनु भनेको पानीमा प्रदूषण बढेको पुष्टि हुन्छ ।

सफा पानीले खेती सिँचाइ गर्दा त्यसले स्वस्थ उत्पादन दिने गर्छ तर फोहोर पानीले सिँचाइ गर्दा स्वस्थ अन्नबाली उत्पादन हुन सक्दैन र त्यसका कारणले उत्पादनमा समेत कमी आइरहेको छ ।

पानीमा बढ्दो प्रदूषण र सिमसार क्षेत्रको अतिक्रमणका कारण संसारमै गाइनेकिरा घट्दो क्रममा रहेको छ । नेपालमा १८२ किसिमका गाइनेकिरा पाइन्छन् । नेपालको पाँच हजार मिटरसम्मको उचाइमा गाइनेकिरा पाइएको छ ।

गाइनेकिरा किसानको साथी भएको बुझाइ छ एकीकृत शत्रुजीव व्यवस्थापनमा सक्रिय रहेकी अम्बिका हमालको । गाइनेकिराले बाली विनाश गर्ने साना र शत्रु किरा खाने गर्छ ।

अचेल किसानले बालीमा लाग्ने किरा मार्न विषादी व्यापक प्रयोग गर्न थालेकाले पनि गाइनेकिराको सङ्ख्या घटेको भन्न सकिन्छ ।

खोजकर्ता मनोज पौडेलका अनुसार खेतारी, पानी टिपुवा, टुकली, फिरफिरे, झ्यालिन्चा जस्ता नामले पनि चिनिने गाइनेकिरा अङ्ग्रेजीमा ‘ड्रागन फ्लाई’ भनिन्छ ।

कृषि, वन र वातावणमा किराको निकै ठूलो महत्व रहन्छ । कृषकको जीवनमा शत्रुकिरा, मित्रकिरा, हिउँदे र वर्षेकिरा आदि धेरै थरीका किरा हुन्छन् । घरगोठमा बस्ने किरा, खेतबारीमा बस्ने किरा, वनमा बस्ने किरा, माटो र पानीमा बस्ने किरा सबैका फरक फरक विशेषता हुने गर्छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 51

प्रतिक्रिया (०)

सम्बन्धित खबर