Aamsanchar

कानून विषयमा मन्त्री र विद्यार्थी बीच अन्तरक्रिया

Author Image
आइतवार, असार १६, २०८१

तुलसीपुर । तुलसीपुर मेट्रो कलेजमा कानून अध्ययनरत विद्यार्थीहरूले लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न खत्रीसँग अन्तरक्रिया गरेका छन् । विद्यार्थीहरूले विभिन्न कानुन सम्बद्ध विषयका साथै प्रदेश सरकारका काम कर्तव्य र अधिकारका बारेमा छलफल गरेका थिए ।

कार्यक्रममा बोल्दै मन्त्री खत्रीले कानूनको क्षेत्रमा धेरै सम्भावना रहेको बताउँदै कानूनका विद्यार्थीहरूले समाजलाई पनि कानूनी हिसाबले सुसूचित पार्नुपर्ने कुरामा जोड दिए । संघीयताको कार्यान्वयन सँगै देशैभर कानूनको जनशक्ति आवश्यक परेको बताउँदै कतिपय सरकारहरूले कानूनको अभावमा काम गर्न नसकेको समेत बताए । ‘कानून बिना केही पनि काम गर्न सकिदैन, सरकारले गर्ने कामको मूल आधार भनेको कानून नै हो ’ मन्त्री खत्रीले बताए ।


विद्यार्थीहरूलाई उत्प्रेरित गर्दै मन्त्री खत्रीले नेपालमा केही पनि भएन, केही राम्रो छैन भन्ने खालको भाष्य निर्माण हुँदै जानु दुखद भएको बताए । ‘हामीले नेपालमै केही गरेका व्यक्तिहरूलाई उत्प्रेरक मान्न छाडेका छौ, विदेश जानेलाई मात्रै हामीले पछ्याउने कुरालाई हामीलाई विदेश नै जानुपर्ने वाध्यता बनाइरहेको छ ’ मन्त्री खत्रीले भने ।
तुलसीपुर मेट्रो कलेजले प्राविधिक शिक्षाको क्षेत्रमा उल्लेखनीय कार्य गरेको बताउँदै मन्त्री खत्रीले यसलाई प्रदेश सरकारले नमुना कलेजका रुपमा स्थापना गर्ने समेत बताए ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले सबैको पहुँचमा प्राविधिक शिक्षा पुर्याउनका लागि स्थानीय सरकारको पहलकदमीमा कलेज स्थापना गरिएको पनि बताए । उनले कलेजले विभिन्न खालका प्राविधिक कार्यक्रम सञ्चालनको तयारी गरिरहेको पनि जानकारी दिए । कार्यक्रमको सहजिकरण वसन्त आचार्यले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 18

प्रतिक्रिया (०)