Aamsanchar

मौसम बारे जानकारी

Author Image
बिहिवार, असार २७, २०८१

मौसम पूर्वानुमान महाशाखाले पर्सि शनिवार बिहानसम्म देशका धेरैजसो क्षेत्रमा मनसुन सक्रिय हुने सम्भावना रहेको जनाउँदै आवश्यक सतर्कताका लागि आग्रह गरेको छ । महाशाखाकाअनुसार अहिले मनसुन न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अर्थात् नेपालको दक्षिण भूभाग आसपास रहेको छ । अब यो रेखा अझ नेपालतिर सर्ने सम्भावना देखिएको महाशाखाले जनाएको छ ।

यस्तै, आजदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित हुने सम्भावना देखिएको छ । यी दुवै प्रणालीको प्रभावले शनिवार बिहानसम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना देखिएको छ । महाशाखाले हिजो बेलुका मनसुन विशेष मौसम बुलेटिन प्रकाशित गरी सतर्कताका लागि अनुरोध गरेको हो ।

आजदेखि तीन दिनसम्म कोशी प्रदेश, मधेस प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै ठाउँमा र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यसैबीच, गएराति बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै पोखराको लाम्पाटनमा १ सय ३८ मिलिमिटर पानी परेको छ ।

यस्तै, लमजुङ, पर्वत, तनहुँ, चितवन, गोरखा, नवलपुर, रुपन्देही, दाङ, गुल्मी, पाल्पा, दोलखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा ठूलो पानी परेको छ । अहिले झापाको विरिङ खोला सतर्कता आसपास रहेकोले स्थानीयलाई सचेत हुन बाढी सूचना केन्द्रले आग्रह गरेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर