Aamsanchar

सिक्किमका नेपाली भाषी नेता रामचन्द्र पौड्यालको शव फेला

Author Image
बिहिवार, साउन ३, २०८१

सिक्किम – एक साताभन्दा अघिदेखि हराइरहेका सिक्किमका नेपाली भाषी नेता रामचन्द्र पौड्यालको शव भेटिएको छ । गएको मंगलबार पश्चिम बंगालको सिलिगुडीस्थित फूलबारीको टिस्टा नहरमा तैरिएको अवस्थामा पौड्यालको शव फेला परेको हो । पहिरनबाट उनको शव पहिचान भएको जनाइएको छ ।

सुरक्षा निकायले उनको शव टिस्टा नदीको माथिल्लो भागबाट बगेर आएको हुन सक्ने अनुमान गरेको छ । मृत्युको वास्तविक कारण भने खुल्न सकेको छैन ।

८० वर्षीय पौड्याल यही जुलाई ७ देखि हराइरहेका थिए । प्रजातन्त्रवादी नेता पौड्याल सिक्किमका पूर्वमन्त्री पनि हुन् ।

छोटकरीमा आरसी पौड्यालको नामले चिनिने उनी सिक्किमको पाक्योङ जिल्लाको चोटा सिंगतम भन्ने ठाउँबाट जुलाई ७ को बिहान ९ बजे आफन्तसँग भेटघाट गर्ने भन्दै निस्किएका थिए । उनले दिउँसो फर्कने बताएका थिए । तर, त्यसपछि फर्किएनन् ।

चम्किलो निलो कुर्ता र पाइजामासँगै उनले नेपाली ढाकाटोपी पनि लगाएका थिए । हातमा रातो छाता बोकेका र कालो वाकिङ स्टिक लिएर उनी घरबाट हिँडेका थिए ।उनको खोजीका निम्ति सिक्किम प्रहरीले विशेष अनुसन्धान टोली ९एसआईटी० बनाएको थियो । उनका बारेमा जानकारी गराउनेलाई नगद पुरस्कार दिने घोषणा समेत गरिएको थियो ।

पाक्योङको एउटा प्रहरी टोली सिलिगुडीतर्फ समेत प्रस्थान गरेको थियो । उनको मोबाइल फोन सिक्किम र पश्चिम बंगालको सीमा क्षेत्र राङ्पो भन्ने स्थानमा बन्द भएको थियो ।

उनी सन् १९७३ को सिक्किमको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रूपमा सहभागी भएका थिए । त्यसक्रममा उनी सात दिनसम्म गान्तोकमा अनशन बसेका थिए ।

टेलिग्राफ इन्डियामा जनाइएअनुसार, उनको अनशनले मानिसलाई आन्दोलनमा लाग्न उत्प्रेरित गरेको सिक्किमका अर्का पूर्वमन्त्री एवं आरसीका भाइ सोमनाथ पौड्यालले बताएका छन् ।

त्यति बेला सिक्किममा चोग्याल पाल्देन थोन्डुप नाम्ग्यालको शासन थियो । उनीहरूले आधारभूत अधिकारसहितको लिखित संविधानको माग गरेका थिए ।

सन् १९७५ देखि १९७७ सम्म पौड्याल त्यहाँको संसद्को उपसभामुख पनि बनेका थिए । पछि मन्त्री भएका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 26

प्रतिक्रिया (०)

सम्बन्धित खबर