Aamsanchar

श्रावण १५ लाई खिर खाने विशेष दिनको रूपमा किन लिइन्छ ?

Author Image
सोमवार, साउन १४, २०८१

खीर खाने दिन
यो छोरी बढ्लिन्, कमाई गर्लिन्, दूध–भात देलिन् मलाई
यस वाक्यांश नेपाली जनको वार्तालापमा पुस्तौँ पुस्ता चलिआएको छ । छोराछोरीको माया र खिरको स्वादलाई एउटै दैलोमा राखेर तुलना गरिएको छ । खिरको महत्त्व अनि त्यसको स्वाद सन्तानको माया र आत्मीयतासँग गाँसिएको छ ।

खिर कस्तो परिकार हो ?
दूध–भात अर्थात् मीठो र पोसिलो खानेकुरा अनि यही हाम्रो सर्वप्रिय दूध–भातसँग सख्खर अथवा गुँडको संयुक्त पाकपछि तयार हुने परिकार हो, खिर । सकेसम्म बासमती अथवा तराईतिर पाइने करिया कामत होस् वा टाई चून अथवा अन्य मसिनो बास्नादार चामल त्यो नभए आफूसँग भएको चामलमा दूध हालेर किसमिस, काजू, नरिवल जस्ता विशेष मरमसला आदि हालेर खिर बनाइन्छ ।

नेपाली चलनचल्तीमा खिर विभिन्न उत्सव, चाडबाड, पूजाआजा, विवाह, व्रतबन्धमा महत्वका साथ पस्किने गरिन्छ । यो नेपाली परिवारको अपरिहार्य परिकारको रूपमा नेपालीहरूबिच लोकप्रिय सांस्कृतिक पकवानको रूपमा परिचित छ । साल या भोर्लाको ठूल्ठूला पातलाई बाँसका कप्टेराका मसिना काँटी (छेस्का) हरूले गाँसेर बनाइएका हरिया दुना–टपरीमा हालेर खाँदा पातको बास्ना र खिरको स्वाद अनि त्योसँगै सेल रोटीको नामै मात्रले पनि हामीमध्ये धेरैको जिब्रो रसाएर आउँछ ।

मानव र दूधको एउटा नमेटिने सम्बन्ध
मानव सभ्यतासँगै मानव र दूधको एउटा नमेटिने सम्बन्ध छ । यसबाट बन्ने कैयन मीठा परिकारहरू विशेषतः शुद्धता, स्वास्थ्य र विशिष्ट स्वादका लागि विश्व समुदायमै प्रिय बन्न सफल छ ।

यस्तै परिकारहरूमध्ये अन्न र दूधको अनुपम सम्मिश्रण यस परिकारमा भोजन, पोषण यसको आकर्षण हो । सेतो दूध र सेतो चामल मिसाइएको यो भोजनको सम्बन्ध देवताहरूले प्राचीन कालमा गरेको समुन्द्र–मन्थनसँग सम्बन्धित छ । त्यति बेलादेखि अझसम्म दूधलाई शुद्धीकरण गर्ने तत्त्व र पोषण मिसिएको बहु गुणी अमृतकै रूपमा लिइन्छ ।

आर्युवेदमा खिर
आर्युवेदमा समेत खिरलाई प्राचीन भोजनका रूपमा व्याख्या गरिएको छ । खिर शब्द पनि संस्कृत शब्द ‘क्षीरमा’बाट आएको मानिन्छ । क्षीरमा अर्थात् दूध र अन्नबाट बनेको परिकार भन्ने अर्थ लाग्छ । रोमन सभ्यतामा पनि खिरलाई खानाको एउटा अपरिहार्य तत्त्वका रूपमा सेवन गरिने चलन छ । यसलाई ‘पायस’ तथा कतै–कतै यसलाई ‘तस्मै’ पनि भनिन्छ । वैदिक सनातन संस्कारमा पितृहरूलाई चढाउन पायस अर्थात् दूध र अन्नको मिश्रणका रूपमा खिर पकाउने चलन छ ।

भगवान् श्रीकृष्ण र खिरको प्रसङ्ग
भगवान् श्रीकृष्णले एक दिन साधारण साधुको भेषमा बदलिएर एउटा राजासँग बाघचाल खेल्न जानुभएको र जितको बदलामा मन्दिरहरूमा निःशुल्क गरिब दीन–दुःखीहरूलाई खिर खुवाउने सर्त राख्नुभएको थियो । उक्त बाघचाल खेलमा भगवान् श्रीकृष्णले राजामाथि विजय प्राप्त गरेको सम्झनामा अझैसम्म पनि मन्दिरहरूमा दीन–दुःखीहरूलाई खिर प्रसादका रूपमा बाँड्ने चलन छ । दक्षिण भारत, बङ्गलादेश, मालदिभ्स, सि याम राज्य अर्थात् थाइल्यान्ड लगायतका देशमा काँचो नरिवलको दूधबाट खिर बनाउने गरिन्छ ।

श्रावणको १५
श्रावणको १५ लाई खिर खाने विशेष दिनको रूपमा लिइन्छ । अर्थात् श्रावणको मध्य बिन्दु खिरका लागि प्रचलित छ ।

रोपाई सकिन आँट्यो या चलिरहेको रोपाई सँगै यो दिनलाई खिर कैयन दशकदेखि स्वादिलो बनाउँदै आएको छ । श्रावण महिनामा पानी पर्ने भएकाले जताततै हरिया घाँस प्रशस्त हुन्छन् । जुन लैनो गाई तथा भैँसीहरूले अत्यन्त मन पराउने गर्छन्, जसका कारण प्रशस्त दूध पनि दिन्छन् । दूधको कमी नहुने यो प्राकृतिक महिनामा खिर खाएर गति परिन्छ भन्ने धारणा छ ।

अनि दूध ल्याउनुभयो त खिर बनाउन ? आज त दूधको व्यापक बिक्री हुन्छ नेपालमा । बिहानैदेखि दूध पसलहरूमा भिडभाड हुने गर्छ । आफ्ना लागि खिरको जोहो गर्न नभुलौँ है । ल है, सहर तिर हो भने त डेरीमा अरू दिन ३–४ बजे सकिने दूध बिहान ९ नबज्दै सकिएला । ढिलो हुँदा नपाइएला नि !

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर