Aamsanchar

मेट्रो कलेजमा मुटकोर्ट क्याम्प

Author Image
बिहिवार, साउन १७, २०८१

तुलसीपुर । तुलसीपुर मेट्रो कलेजले मुटकोर्ट अभ्यास अदालत सम्बन्धी साताव्यापी आवासीय क्याम्प सञ्चालन गरेको छ । कानून सङ्कायमा अध्ययनरत विद्यार्थीहरूलाई आन्तरिक प्रतिष्पर्धा गराएर छानिएका २२ विद्यार्थीहरूलाई ७ दिनसम्म आवासीय रुपमा क्याम्प सञ्चालन गरिएको थियो । उक्त क्याम्पमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट प्रशिक्षण दिइएको कार्यक्रम संयोजक विजय पोख्रेलले जानकारी गराए ।

विद्यार्थीहरूलाई कानूनी बहसमा अभ्यस्त गराउनका लागि कार्यक्रमको आयोजना गरिएको पनि संयोजक पोख्रेलले जानकारी दिए । अभ्यास अदालतसँग सम्बन्धित बहस, कानून मस्यौदा र कानूनी अनुसन्धान लागयतका कुराहरूमा विद्यार्थीलाई अन्तर्राष्ट्रिय प्रशिक्षक अनुज चन्दले जानकारी गराएका थिए । उनले विभिन्न मुटकोर्ट प्रतियोगितामा सहभागिता जनाउनका लागि आवश्यक पक्षका बारेमा जानकारी गराएका थिए ।

सो अवसरमा प्रशिक्षक चन्दले अन्तर्राष्ट्रिय अदालतको क्षेत्राधिकार, आत्मनिर्णय लगायतका विषयमा विद्यार्थीहरूलाई प्रशिक्षण दिएका थिए । सो कार्यक्रममा अधिवक्ता सुनिल यादवले अदालती मस्यौदा लेखन, थुनछेक सम्बन्धी कानून, बहस नोट लगायतका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा कानून सङ्काय संयोजक विजय पोख्रेल, उपप्राध्यापक कमल मरासिनी, अधिवक्ता सुष्मा केसी लगायतले विभिन्न विषयमा प्रशिक्षण दिएका थिए ।

कानुनी विषयलाई व्यावहारिक ढङ्गले अध्यापन गराउनका लागि क्याम्पको आयोजना गरिएको कलेज प्रमुख बसन्त आचार्यले जानकारी दिए । उनले विभिन्न मुटकोर्ट प्रतियोगितामा सहभागिताका लागि विद्यार्थीहरूलाई क्याम्पसले सहजता प्रदान गरेको समेत बताए ।

कार्यक्रममा नेपालीमा उत्कृष्ट बहस गर्ने पारस वली र अङ्ग्रेजीमा उत्कृष्ट बहस गर्ने शिशिर पौडेललाई पुरस्कृत समेत गरिएको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 15

प्रतिक्रिया (०)

सम्बन्धित खबर