![](https://aamsanchar.com/wp-content/uploads/2024/11/ramro.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2024/08/InShot_20240803_123718004.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2025/02/g_1.gif)
पेरिस – कहिलेकाहीँ अति उत्तेजित हुनु पनि राम्रो हुँदैन भन्ने गतिलो उदाहरण बनेका छन्, माल्डोभाका जुडो खेलाडी आदिल ओस्मानोवा। फ्रान्सको राजधानी पेरिसमा जारी ३३औं गृष्मकालीन ओलम्पिकअन्तर्गत जुडोको ७३ केजी तौलसमूहमा आदिल ओस्मानोवाले प्रतिस्पर्धा गरेका थिए।
![](https://aamsanchar.com/wp-content/uploads/2024/08/manav-Finel.gif)
कांस्य पदकका लागि भएको भिडन्तमा इटालीका म्यानुयल लोम्बार्डलाई पराजित गरेपछि उनी खुसीले उत्तेजित भएका थिए। ओलम्पिकजस्तो विश्व खेलकुदको कुम्भमेलामा पदक जितेपछि खुसी हुनु स्वाभाविक हो। पदक नै जितेपछि खुसी त मनाउनै पर्छ। आदिल ओस्मानोवाले पनि कांस्य पदक जितेपछि खुसी त मनाए।
![](https://aamsanchar.com/wp-content/uploads/2024/09/nepal-s-yyy.gif)
तर, बढी उत्तेजनामा। पहिले दुवै घुँडा टेकेर आफ्नो खुसी जाहेर गरे। त्यसपछि जोडले दुवै हात हावामा झट्कारे। यसरी जितको खुसी मनाउँदा मनाउँदै उनलाई आपत् पर्यो। उनी हाँसिरहेका मान्छे एकैछिनमा कालोनीलो भए। हात हावामा झट्कार्ने क्रममा उनको काँधको हड्डी नै खुस्कियो। यसरी जितको हाँसो र खुसी क्षणभरमै पीडामा परिणत भयो। उनी काँध समातेर पीडाले चिच्चाउन थाले।
![](https://aamsanchar.com/wp-content/uploads/2025/01/birta-h.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2024/12/kasham.gif)
त्यसपछि मेडिकल टोली आएर उनलाई कोर्ट बाहिर लगेका थिए। उनको प्रारम्भिक परीक्षण र उपचार त्यहीं भएको थियो। चिकित्सकहरूले उनको काँधको शल्यक्रिया गर्नुपर्ने बताएका छन्। पदक लिने क्रममा पनि टोलीका अन्य सदस्यले सहयोग गरेका थिए। उनीले ‘भिक्ट्री स्ट्यान्ड’सम्म पुर्याएका थिए। उनले आफूले जितेको पदक बुवाप्रति समर्पण गरेका थिए।
‘मेरो बुवा आफैं खेलाडी हुनुहुन्थ्यो। उहाँको पनि ओलम्पिक खेल्ने ठूलो सपना थियो। उहाँको त्यो सपना आफैंले त पूरा गर्न सक्नु भएन। तर, आज उहाँको सपना पूरा भएको छ’, उनले भनेका छन्, ‘यो पदक मेरो मात्रै होइन, बुवाको पनि हो। त्यसैले उहाँलाई नै समर्पित गर्न चाहन्छु।’