Aamsanchar

नेपाली सीप जापानमा प्रचार गर्दै मोरङका मूर्तिकार मञ्जुल

Author Image
आइतवार, भदौ ९, २०८१

उर्लाबारी- झण्डै दुई दशकअघि राष्ट्रलाई एक हजार मूर्ति निर्माण गरी उपहार स्वरूप सुम्पने घोषणा गर्नु भएका मोरङ, उर्लाबारी–६ का मूर्तिकार मञ्जुल मितेरीले आफ्नो अभियान १८ वर्षभित्र पूरा गर्न सक्नु भएन । उहाँ अझै थाक्नु भएको छैन ।

आफ्नो सङ्कल्प पूरा गर्ने अभियानमा उहाँलाई जीवनसङ्गिनी कौशिला राईले सहयोग गरिरहनु भएको छ । ढुङ्गामा छिनोले खोपेर विश्वप्रसिद्ध व्यक्ति (दार्शनिक, वैज्ञानिक, साहित्यकार र नेता) को आकृति खोज्ने अभियानमै मितेरीले १९ वर्ष बिताइसक्नु भएको छ ।

खस्रा ढुङ्गालाई कुँदेर आकृति निकाल्ने काम आफैमा चुनौतीपूर्ण हो । तर पनि उहाँ आफ्नो प्रतिबद्धता पूरा हुनेमा ढुक्क हुनहुन्छ । आर्थिक अभाव, सामाजिक असहयोग र आफ्नै घर खर्चको वैकल्पिक व्यवस्था गर्न नसकेपछि मञ्जुलले पुनः प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘समाजसामु बोलेको कुरा पूरा गर्छु । आर्थिक उपार्जन र घर चलाउन कठिन भएकाले समयमै प्रतिबद्धता पूरा गर्न सकिन । अबको मेरो अर्जुनदृष्टि जापानबाट फर्केर नेपाल आएपछि राष्ट्रलाई सुम्पने हजार मूर्ति बनाउने हो ।’

मूर्तिकार मितेरी सात वर्ष यता आफ्ना सहयोगीका साथ जापानमा रहेर ६५ फिट अग्लो बुद्धको मूर्ति खोपिरहनु भएको छ । विशाल चट्टानी पहरामा कठिन परिश्रम गरेर नेपाली कला र पसिना बेचिरहनु भएका मितेरीलाई काभ्रेका सानोभाइ विश्वकर्मा, उदयपुरका रामचन्द्र पण्डित र मोरङका गणेशकुमार राईको साथमा दिनुभयो । कलाकारहरू गणेशकुमार राई, जीवन पौडेल, रामकुमार राई, चतुरलाल राजवंशी र सुवास विश्वकर्माले साथ दिइरहनु भएको बताउनुभयो ।

ओसिमा सेकीबुचु यामा नामक मूर्ति निर्माण प्रतिष्ठानले जापानको कुमामतो जिल्लाको खामीकुशा भन्ने ठाउँमा ६५ फुटको मूर्ति बनाउने जिम्मेवारी दिएको छ । त्यसका अतिरिक्त मितेरीले पहरामा ४० फुटका २ वटा र २० फुटका चार वटा मूर्ति निर्माण गरिसक्नुभएको छ ।

सो मूर्तिको उद्घाटन सन् २०२६ मा गर्ने तयारी भइरहेको मितेरीले बताउनुभयो । मितेरीका अनुसार त्यहाँ बनिरहेको मूर्ति पछिल्लो दुईसय वर्ष यताको सबैभन्दा ठुलो ढुङ्गाको मूर्ति हो । यसलाई जापान सरकारले विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिरहेको छ ।

स्वदेशमा कलाको सम्मान नभएकाले बाध्य भएर बिदेसिनु परेको मन्जुलको भनाइ छ । उहाँले भन्नुभयो, ‘राष्ट्रबाट सम्मान प्राप्त हुन्छ, सम्मानले दैनिकी नचल्दो रहेछ । २०७२ मा ५० हजार नगदसहितको राष्ट्रिय युवा प्रतिभा पुरस्कार र २०८० सालमा प्रादेशिक प्रतिभा पुरस्कार लगायत दर्जन बढी पुरस्कार र सम्मान प्राप्त गरे पनि आफ्नो कलाको मूल्य नपाउँदा मितेरी निराश हुनुहुन्छ ।

मितेरीले संस्कृति विषयमा स्नातकोत्तरसम्म अध्ययन गर्नु भएको छ । उहाँ भन्नुहुन्छ, ‘ढुङ्गामा कला भर्ने सीप सिकेँ । संस्कृतिमा डिग्रीसम्मको अध्ययन गरेँ । स्वदेशमा न कलाको सम्मान छ, न पढाइअनुसार जागिर पाइन्छ ।’ जापानमा उहाँ दैनिक ८ घण्टा हम्मरले ढुङ्गामाथि छिनो लगाउनु हुन्छ ।

२०६१ यता उहाँले २ हजार ५ सय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चित व्यक्तिको मूर्ति, सालिक र प्रतिमा बनाइसक्नु भएको छ । एकसय वटा सहयोग स्वरूप निःशुल्क दान दिनु भएको छ । ९ सय वटा बिक्री भइसकेको उहाँको भनाइ छ ।

उर्लाबारी नगरपालिकासँगै रहेको उहाँको मञ्जुल मूर्तिकला केन्द्रको सबै चाँजोपाँजो जीवन सङ्गिनी कौशिला राईले गरिरहनु भएको छ । कौशिला आफैँ पनि मूर्ति र सालिक बनाउन सिपालु भइसक्नु भएको छ ।

ढुङ्गामा भगवान् शिवको मूर्ति खोपिरहनु भएका कौशिलाले भन्नुभयो, ‘उहाँको सङ्कल्प पूरा गर्न म समेत लागेकी हुँ । उहाँ मात्र होइन उहाँका छोरा प्रतीक मन्जुल बराइली पनि जापानबाट स्वदेश फर्केर यसैमा साधनारत हुनुहुन्छ ।’

मन्जुलले बनाएका शालिकमध्ये झापाको गरामुनीमा सुखानी काण्डका ६ सहिद र ताप्लेजुङको घुन्सामा दुर्घटनामा परी मरेका तत्कालीन वनमन्त्री र वन विज्ञसहित २४ जनाको सालिक अत्यन्तै लोभलाग्दो र आकर्षक रहेको छ । परिवारका कुनै सदस्य पनि मूर्तिकलाप्रति लगाव नभए पनि मञ्जुल महान् कलाकार अरनिको जीवनी पढेर मूर्ति बनाउन थालेको बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर