गायक श्रीकृष्ण बम मल्लले करिब पाँच सय भन्दा बढी गीतमा सफल संगीत संयोजन गरिसकेका छन् भने उनले तीन दर्जनभन्दा बढी गीतमा आवाज पनि दिएका छन्। “मेरै बुढा मेरै भगवान,“ “निरमाया ठूली,“ “धरोधर्म बिद्यानास,“ र “डाडाघरे साईली“ जस्ता लोकप्रिय गीतहरूमा आफ्नो आवाज दिएका मल्ल हाल सांगीतिक यात्राको क्रममा लन्डनमा रहेका छन्।
त्यस्तै, रुबीना अधिकारी नेपाली नृत्यको क्षेत्रमा चर्चित छिन्। आधुनिक र लोक नृत्यमा पोख्त अधिकारीले धेरै म्यूजिक भिडियो तथा प्रस्तुतीहरूमा आफ्नो नृत्यकला प्रस्तुत गरेर दर्शकहरूलाई मोहित पारेकी छिन्। उनको नृत्यले नेपाली सांस्कृतिक पहिचानलाई विश्वव्यापी स्तरमा फैलाउन महत्वपूर्ण भूमिका खेलेको छ।
इनास यूकेका अध्यक्ष सञ्जय पाण्डेले कार्यक्रममा बोल्दै भने, “श्रीकृष्ण बम मल्ल र रुबीना अधिकारीले नेपाली कला क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने कार्यमा अद्वितीय योगदान दिएका छन्। उनीहरूको प्रतिभाले नेपाली गीत संगीत र नृत्यलाई नयाँ उचाइमा पुर्याएको छ, र उनीहरूलाई यस सम्मानले अझ प्रेरित गर्नेछ।”
कार्यक्रममा नेपाली समुदायका धेरै प्रतिनिधिहरूको उपस्थिति थियो, जसले मल्ल र अधिकारीको सम्मानमा हर्ष प्रकट गरे।