Aamsanchar

तुलसीपुरमा डेङ्गीबाट बच्न लार्भा नष्ट गर्ने अभियान

Author Image
बिहिवार, भदौ २०, २०८१

दाङ । तुलसीपुर उपमहानगरपालिकाले डेङ्गीबाट बच्न नगरवासीलाई सचेत बनाउन र लार्भा नष्ट गर्ने अभियान सुरु गरेको छ । वर्षातको समयमा डेङ्गीको सङ्क्रमण बढ्न थालेपछि नगरवासीहरूलाई बच्ने उपायबारे जागरूक गराउन यो अभियान थालिएको हो ।

प्रत्येक साताको शुक्रबार सचेतना अभियान र विद्यालय शिक्षा कार्यक्रमसँगै लार्भा नष्ट अभियानलाई निरन्तरता दिने योजना अघि सारिएको छ । यो अभियान उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवद्धन शाखाको आयोजनामा आजदेखी सुरु भएको हो ।
अभियानको पहिलो दिनमा नगर प्रमुख टिकाराम खड्का, महाशाखा प्रमुख, स्वास्थ्यकर्मी, तुलसीपुर उद्योग वाणिज्य संघका प्रतिनिधि र पत्रकारको टोलीले विभिन्न क्षेत्रहरूमा सचेतना कार्ड वितरण गर्दै लार्भा नष्ट गरेका छन् ।

यस क्रममा विपी चोक, पिपलवोट,न्यूरोड, नयाँबसपार्क लगायतका स्थानमा घर तथा पसलका वरपर पानी जम्न नदिने र सरसफाइ गर्ने अपिल गरिएको छ ।

अभियानको क्रममा सबैभन्दा धेरै कवाड संकलन केन्द्र, होटल र केही घरमा राखिएका गमला, टायर, ड्रममा सरसफाइको अभाव देखिएको थियो । जहाँबाट भेटिएका लार्भा नष्ट गरिएको छ ।

नगर प्रमुख टिकाराम खड्काले नगरवासीलाई डेङ्गीबाट जोगिन सतर्कता अपनाउन अपिल गर्दै वातावरणीय सरसफाइमा स्थानीय सरकारको मात्र भर नपरी नागरिकहरूले पनि आफ्नो कर्तव्यका रूपमा पालना गर्न आग्रह गरेका छन् । अभियानका क्रममा जोखिम देखिएका क्षेत्रमा हरेक सातामा अनुगमनलाई तीव्रता दिने जनस्वास्थ्य महाशाखाका अहेव विष्णु गिरीले जानकारी दिए ।

उनले डेङ्गीबाट बच्न सरसफाइमा ध्यान दिनुपर्ने बताउँदै यसका लागि ठोस उपचार नभएको, तर लक्षणअनुसार उपचार गरिने जानकारी दिए
तुलसीपुरमा गत वर्ष १ सय ९१ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको थियो भने चालू वर्षको साउन महिनामा २२८ जनाको जाँच गरिएकामा ८९ जनामा डेङ्गी संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरीक्षक बिमल केसीले जानकारी दिए । केसीका अनुसार पुष्टि भएका मध्य २० जना अस्पताल भर्ना भएका थिए भने अन्य सबै सामान्य उपचारपछि निको भएका छन् ।

डेङ्गी सङ्क्रमण भएमा एक्कासि ज्वरो आउने, टाउको, मांसपेशी तथा जोर्नी दुख्ने, थकान महसुस हुने जस्ता लक्षण देखिन्छन् । जटिल अवस्थामा तत्कालै नजिकैको स्वास्थ्य संस्थामा जानुपर्ने महाशाखा प्रमुख ओम पी न्यौपानेले बताउनुभयो । बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी र गर्भवतीहरूलाई विशेष ध्यान दिन आग्रह गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 38

प्रतिक्रिया (०)

सम्बन्धित खबर