Aamsanchar

डिजिटल प्रविधि प्रयोगको बारेमा बनेको चलचित्र ‘झिल्को’ को प्रर्दशनी मिति पक्का 

Author Image
शुक्रवार, असोज ११, २०८१

बिर्तामोड । प्रविधिको आविष्कार त्यसमध्येको डिजिटल प्रविधि प्रयोग गर्न जाने बरदान नजाने अभिशाप  हुने सन्देश मूलक नेपाली चलचित्र झिल्कोको प्रर्दशनको मिति तोकिएको छ ।
आगामी पुष ५ गते देखि  नेपाल अधिराज्यभरि प्रदर्शनी हुने  निर्माण पक्षले जनाएको छ ।

डिजिटल उपकरणको अनियन्त्रित प्रयोगले मानवजीवन खास गरी कलिलो उमेरका बालबालिकाको शारीरिक, मानसिक र बौद्धिक अपाङ्गता तर्फ डोर्‍याइरहेको घटनालाई मुख्य विषयवस्तु बनाएर निर्माण गरिएको चलचित्र झिल्को एक चेतना मूलक चलचित्र पनि हो ।

पछिल्लो समयमा गम्भिर  समस्याका रूपमा विकास हुँदै गएको डिजिटल दुर्व्यसनी, मोबाइल उपकरणको अनियन्त्रित प्रयोगले मानव मष्तिष्कलाई एकोहोरिँदै लगेको छ । सबै उमेर समुहका व्यक्तिहरूलाई यसले लठ्याइदिएको छ ।  खास गरी बालबालिकाहरू यसको कुलतमा फसेर एउटा परिवारले कति सङ्घर्ष गर्नुपर्छ भन्ने गम्भिर विषयलाई उठान गरिएको सामाजिक व्यवसायिक चलचित्र झिल्को नेपालको लागि फरक र दर्शकको लागि एक उपलब्धि मूलक चलचित्र बन्ने निर्माण पक्षको ठहर छ ।

झिल्कोले बालबालिका प्रति अभिभावकको कर्तव्य र जिम्मेवारी तथा आफैँमा समेत सचेतना सन्देश प्रवाह गर्ने निर्देशक यादवकुमार भट्टराईले दावी गरेका छन् ।
सामाजिक चलचित्र झोलाको निर्देशन गरेर चर्चाको शिखरमा पुगेका निर्देशक भट्टराईले यो चलचित्र झोला भन्दा झिल्को अझ राम्रो रहेको र दर्शकको अपार माया पाउनेमा आशावादी रहेको बताए ।

मिडिया फर कल्चर प्रा.लि. को प्रस्तुति रहेको झिल्कोमा कथा, पटकथा र संवाद यादवकुमार भट्टराई, अरुणदेव जोशी र देवव्रतको रहेको छ ।
यो चलचित्र दीपक बज्राचार्यले छायाँङ्कन गरेका हुन । चलचित्रको सम्पादनको काम निमेश श्रेष्ठले गरेका छन् ।

उमेश पौडेल कार्यकारी निर्माता, सुशीला आचार्य र रामगोपाल थापा निर्माता, निर्माण सहयोगीमा  जनता प्रसारण तथा प्रकाशन प्रा.लि. रहेको छ ।
आनन्द अधिकारीको गीत, चण्डी प्रसाद काफ्ले, दीपक शर्माको सङ्गीत, शिव परियार र निशा देशारको गायन रहेको छ ।  झिल्कोमा दिलिप पन्त निर्माण नियन्त्रक, मुख्य सहायक निर्देशन आकाश उखेडा, सहायक निर्देशन अनिश बुढाथोकी,  सह सम्पादन नारायण गैरे, मुख्य सहायक छायाँङ्कन विवेक लामा, पोष्टर डिजाइन आइडियल, नेपाल वितरकमा डिसिएन नेपाल रहेको छन् ।  अमेरिका क्यानडा वितरकमा इपिक इन्टरटेन्मेन्ट रहेको निर्देशक भट्टराईले जानकारी दिए ।

चलचित्रमा मुख्यगरी  सुनिल पोख्रेल, बर्षा शिवाकोटी, विशाल पोख्रेल, आयुशी ढकाल, भोला सापकोटा, जाहान्वी बस्नेत आदिको अभिनय रहेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 38

प्रतिक्रिया (०)

सम्बन्धित खबर