Aamsanchar

हङकङको चिडियाखानामा पछिल्लो १० दिनमा १२ वटा बाँदर मरे

Author Image
बिहिवार, कार्तिक ८, २०८१

हङकङको चिडियाखानामा पछिल्लो १० दिनमा १२ वटा बाँदर मरेका छन् । यीमध्ये ११ वटा बाँदर ब्याक्टेरियाको सङ्क्रमणबाट मरेको पुष्टि भएकामा एउटाको परीक्षण हुन बाँकी रहेको बीबीसीले जनाएको छ । द डि ब्राजा चिडियाखानामा शुरूमा १३ अक्टोबरमा ८ वटा बाँदर एकैपल्ट मरेपछि सबैलाई अलग्गै राख्न थालिएको थियो ।

मरेको बाँदरहरूको परीक्षण गर्दा चिडियाखाना नजिकैको दूषित माटोबाट ब्याक्टेरिया निस्केर सङ्क्रमण फैलिएको पाइएको छ । दूषित माटो, हावा वा पानीको सम्पर्कबाट सर्ने सङ्क्रमण रोग मेलियोइडोसिसका कारण बाँदरहरू मरेका अधिकारीहरूले बताएका छन् ।

हङकङको सिटी युनिभर्सिटीका भेटेरिनरी एपिडेमियोलोजिस्ट डर्क फिफरले यो सङ्क्रमण मानिसमा सर्ने जोखिम भने धेरै कम रहेको बताउनुभएको छ । उहाँले एशियामा माटोको प्रदूषण परीक्षण निकै कम हुने गरेको भन्दै यो अतिआवश्यक रहेको बताउनुभयो ।

कैद गरेर राखेका जनावरहरूको आसपासमा भएका माटो परीक्षण नहुँदा विश्वमा नै विभिन्न सङ्क्रमणका कारण जनावर मर्ने समस्या रहिआएको छ । हङकङमा सन् १९७० को दशकको मध्यतिर डल्फिनहरू मरेको पाइएपछि परीक्षणका क्रममा मेलियोइडोसिसको पुष्टि भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 50

प्रतिक्रिया (०)